
काठमाडौ : नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीको प्यानलबाट मकवानपुरका अनुभवी नेता एकलाल श्रेष्ठ केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार श्रेष्ठ आदिवासी जनजाति खुला सदस्य बागमती प्रदेश भुगोलतर्फको केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन् ।
पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउँदै केन्द्रीय सदस्यमा जिताउन पार्टी पंक्ति र प्रतिनिधिहरूलाई अपिल गरेका छन् । पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनको छ ।
२०४६ सालदेखि अनेरास्ववियुसँग आबद्ध हुँदै संगठित राजनीतिमा प्रवेश गरेका हुन् । मकवानपुर जिल्लाको दुईपटक पार्टी अध्यक्ष जिम्मेवारी सम्हालेका श्रेष्ठ बागमती प्रदेश सरकारका प्रमुख सचेतक हुन् । एमालेको केन्द्रीय नेतृत्वमा मकवानपुरको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न श्रेष्ठको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।