
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदानको समय अझै निश्चित हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार दिउँसो ३ बजेबाट मतदान सुरु हुने जानकारी गराए पनि प्राविधिक समस्याका कारण प्रक्रिया ढिलिने संकेत देखिएको छ ।
आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदान ४ देखि ५ बजेको बीचमा सुरु हुन सक्ने सम्भावना छ । विद्युतीय माध्यमबाट हुने मतदानका लागि ६ घण्टाको समय छुट्याइएको छ भने मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर २७ गते सुरु भएको महाधिवेशन पुस २ गते नयाँ नेतृत्व चयन गर्दै समापन गर्ने कार्यतालिका रहेको छ ।