
काठमाडौंः नेकपा (एमाले) को ११औं महाधिवेशनमा केही रोचक परिणाम आएका छन् । अध्यक्षमा केपी शर्मा ओली झण्डै ७५ प्रतिशत मतसहित निर्वाचित हुँदा उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने उपमहासचिवमा मात्र होइन्, केन्द्रीय सदस्यमा पनि पराजित हुन पुगेका छन् ।
उनी नवौँ महाधिवेशनमा पनि सचिवमा पराजित भएका थिए । १० औँ महाधिवेशनमा भने ओलीले उपमहासचिव बनाएका थिए ।
ओलीका चार वटै प्रधानमन्त्रीत्वकालका प्रमुख राजनीतिक सल्लाहकार रिमाललाई पराजित गरेर महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष ओलीलाई सिमित नेताको घेराबन्दीबाट बाहिर निस्कन सन्देश दिएका छन् । सुरुमा चुनाव नलड्ने भनिरहेका रिमाल अन्तिम समयमा पदाधिकारीमा दोहोरिने निर्णयमा पुगेका थिए ।