२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

यस्तो छ नवनिर्वाचित एमाले अध्यक्ष ओलीको संघर्षपूर्ण राजनीतिक यात्रा 

shivam cement
२०८२ पुष ३ गते १५:३९
Shares
यस्तो छ नवनिर्वाचित एमाले अध्यक्ष ओलीको संघर्षपूर्ण राजनीतिक यात्रा 

काठमाडौं : नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारू, संघर्षशील एवं जेलनेल भोगेको नेताका रूपमा स्थापित छन् । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथ सहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रूपमा चिनिन्छन् । 

एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली काठमाडौंमा सम्पन्न  ११औं महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९ मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौं आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसकेका छन् । 

पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । 

गत मंगलबार २७ गतेदेखि काठमाडौंमा सुरु भएको ११औं महाधिवेशनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् ।  विघटित प्रतिनिधिसभामा दोस्रो ठूलो दलका रूपमा रहेको एमालेलाई विशेष गरी जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।

अध्यक्ष ओली विसं. २०७१ साउन १ गते काठमाडौंमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी २०७८ मंसिर दोस्रो साता चितवनामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष भएका थिए । 

समृद्धि, विकास र राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि कमाएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रूपमा चिनिन्छन् । नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ बहुमतसहित उनी दोस्रो पटक सरकारको नेतृत्वमा पुगेका थिए । 

विसं. २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि  पहिलो वरियताको अध्यक्ष भएका उनी पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकार बाहिर पुगेका थिए । 

निम्नमध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्व प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो संघर्ष जेलनेल, पटक–पटक कठोर यातना भोग्ने नेता हुन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओली आफ्नो बाल्यकालमा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेको अहिले पनि स्मरण गर्ने गर्छन् । 

तेह्रथुम छोडेर २०२० सालमा उनको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तर घुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित भएका थिए ।

अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत संघर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उनी नेतृत्वदायी भूमिकामा छन् । 

अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् ।

१५ वर्षको किशोर उमेरमा २०२३ सालमा उनी रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल भएका थिए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जंगलमा गोली हानी हत्या गरेको थियो ।

मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । कम्प्युनिष्ट आन्दोलनमा होमिएका ओली २०२६ सालमा पहिलो पटक  पञ्चायती सरकारको गिरफ्तारीमा परेका थिए । 

पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ परेका थिए । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताएका थिए । 

अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्य थिए । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।  

नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष भए ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य भए ।

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा निर्वाचन–६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभा सदस्य हुन् ।  यसैबीच पार्टी जिम्मेवारीका क्रममा पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी उनले सम्हाले । पछि उनी उपप्रधानमन्त्री र परराष्ट्र पनि बने ।

बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उनी पहिलो पटक मुलुकको गृहमन्त्री भए । –रासस

सम्बन्धित खबर