२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

यस्तो छ एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा 

shivam cement
२०८२ पुष ३ गते १८:५२
Shares
यस्तो छ एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा 

काठमाडौं : नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शंकर पोखरेल राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र सांगठनिक दक्षता भएका नेता हुन् । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रूपमा परिचित उनी मालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को कुशल व्याख्याताको रूपमासमेत चिनिन्छन् ।

महासचिव पोखरेलको जन्म विक्रम सम्बत् २०१९  फागुन १५ गते हालको लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रूपमा भएको हो । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेको उनले दाङको तुल्सीपुरस्थित महेन्द्र मावि टारीगाउँमा एसएलसी परीक्षाको तयारी गर्दागर्दै तत्कालीन शासन व्यवस्थाका कारण पढाइ छोड्न बाध्य हुनुपर्‍यो । त्यसपछि भारतको बनारसबाट ‘प्राइभेट’ परीक्षार्थीको रुपमा ‘बोर्ड’ परीक्षा उत्तीर्ण गरेका पोखरेलले व्यवस्थापन संकायमा स्नातक तहको अध्ययन बनारसबाटै गरे । 

विसंं. २०३५ मा विद्यार्थी राजनीतिमा होमिएका पोखरेल २०३६ साल र २०३७ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए । यसक्रममा २०३७ सालमा उनी पहिलोपटक जेल परे ।  विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पटक–पटक पक्राउ परेका नेता पोखरेल भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीको हक हितको पक्षमा संघर्षरत थिए । 

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्षलगायतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले नेपाल फर्किएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बागमती अञ्चल कमिटीमा रहेर काम गरे । राजनीतिक यात्राका क्रममा तत्कालीन पार्टी नेता मदन भण्डारीसँग नजिक भई उनी पार्टी गतिविधिमा सक्रिय भए ।

विद्यार्थी फाँटमा क्रियाशील भइरहेको अवस्थामा २०४५ सालमा नेता पोखरेल देशको सबैभन्दा ठूलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भए । उनी अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–मार्क्सवादी एकतासँगै भएको ‘नेप्रवियु’सँगको एकतापछि अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । विद्यार्थी नेताको छवि बनाउन सफल नेता पोखरेल २०५१ सालमा प्रतिनिधिसभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा क्रियाशील भए । 

नेता पोखरेलले २०५४ सालमा तत्कालीन विद्यार्थी नेत्री सुजिता शाक्यसँग जनवादी विवाह गरेका थिए । उनका दुई छोरी छन् । एमालेको २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौंं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बने । विसं. २०६५ मा बुटवलमा सम्पन्न आठौंं महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनपछि पार्टी स्थायी कमिटी सदस्य भए । 

नवनिर्वाचित महासचिव पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले २०६२/६३ सालको जनआन्दोलनका क्रममा राजधानी काठमाडौंमा सञ्चालित आन्दोलनको नेतृत्व गरेका थिए । पहिलो संविधान सभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) नेतृत्वको सरकारपछि २०६६ सालमा गठन भएको नेकपा (एमाले) नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बने । 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर उनले पार्टीको प्रशिक्षण कार्यक्रममा सक्रिय भए । नेता पोखरेल २०७८ मंसिरमा चितवनमा सम्पन्न पार्टीको १०औं महाधिवेशनबाट सर्वसम्मतिले महासचिव चुनिएका थिए । एमालेको ११औं महाधिवेशनमा प्रत्यासी नेता सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गर्दै दोस्रो पटक महासचिवमा निर्वाचित भएका छन् । –रासस

सम्बन्धित खबर