
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जनाकारी दिए ।
उनका अनुसार बैठक आइतबार दिउँसो ४ बजे बस्नेछ । लामिछाने गत शुक्रबार नख्खु कारागारबाट रिहा भएका छन् । उनी रिहा भएसँगै पार्टी गतिविधिमा सक्रिय छन् । शनिबार लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा पुगेर सम्बोधन गरेका थिए ।
त्यसलगत्तै काठमाडौंमा फर्किएका उनले जेनजी आन्दोलनका घाइतेहरूलाई अस्पतालमै पुगेर भेटेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई भेटेर सान्त्वना दिएका छन् ।
सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि रास्वपाको कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई जिम्मा दिइएको छ । सम्भवतः आइतबार दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमार्फत् उनी पार्टीको सक्रिय राजनीतिमा फर्किन सक्ने आकलन गरिएको छ ।