
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ ।
उनले मुलुकमा सुशासन कायम गर्ने, जेनजीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे । उनले जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताए । निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए ।
उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।