
काठमाडौं : देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ११४ पुगेको छ । गत २०७९ सालको निर्वाचनमा ८७ दलहरूले निर्वाचनमा भाग लिएका थिए । उनले दलहरूको संख्या बढेको कारण निर्वाचनमा प्रतिष्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी दिए ।
उनले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको जानकारी दिए । ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्री मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम भइरहेको उनले जानकारी दिए ।
उनले पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको बताए ।
उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिए ।