२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पोर्चुगलमा पनि मनाइयो ‘विश्व ध्यान दिवस’

shivam cement
भरत प्रधान
२०८२ पुष ७ गते २१:२१
Shares
पोर्चुगलमा पनि मनाइयो ‘विश्व ध्यान दिवस’

लिस्बन : ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने मूल नाराका साथ युरोपेली मुलुक पोर्चुगलमा पनि विश्व ध्यान दिवस मनाइएको छ ।

लिस्बनस्थित रहेको नेपाली दूतावासले आइतबार ध्यान शिविरको आयोजना गरेर विश्व ध्यान दिवस मनाएको हो । दूतावासको सभाहलमा भएको ध्यान शिविरमा जीवन विज्ञानका प्रशिक्षकद्वय लभ्लीप्रसाद शर्मा र विजेन्द्र लामाले सहभागीहरूलाई ध्यानको प्रयोगात्मक अभ्यास गराउनुका साथै तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य र ध्यानका विविध पक्षका बारेमा प्रशिक्षण दिएका थिए । 

सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले ध्यान अत्यन्तै उपयोगी रहेको बताए । उनले तनाव व्यवस्थापन, सकारात्मक उर्जा र सफल जीवनका लागि ध्यानले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ध्यान शिविरमा दूतावासका कर्मचारीलगायत नेपाली समुदायको सहभागिता रहेको थियो ।

सरकारले नियोगलाई ध्यान शिविर सञ्चालन गर्न निर्देशन दिए बमोजिम ध्यान शिविरको आयोजना गरी विश्व ध्यान दिवस मनाइएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए । ध्यानले शारीरिक, मानसिक तथा सामाजिक रूपमा लाभ पुग्ने भएकाले आगामी दिनमा क्रियाशील नेपाली संघसंस्थासँग समन्वय गरेर ध्यान शिविरलाई निरन्तरता दिने दूतावासको योजना रहेको उनले बताए ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । त्यसैअनुसार यस वर्ष पनि नेपालसहित विश्वभर ध्यान दिवस मनाइएको हो । 

सम्बन्धित खबर