
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् । जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताए ।
निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उनको भनाइ छ । उनले सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाए । उनले पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गरे । उनले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा काँग्रेस दृढ रहेको बताए ।
उनले भने, ‘कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन । कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ । कुनै कुना कन्तरामा आशंका उब्जिने गरी अघि बढ्न भएन । सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ । पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन । हामी विध्वंश र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौं । हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौं । कसैको मताधिकार नखोसियोस् । मत हाल्ने अधिकारबाट वञ्चित नहोस् । अन्तरजिल्ला मतदानको कुरा छ, विदेशमा रहेकाहरूको मतदानको कुरा छ । चर्चाका लागि मात्रै कुरा नगरौं । निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, यसलाई अर्जुनदृष्टिमा राख्नुपर्छ । सबै राजनीतिक दलहरू उपस्थित हुने र त्सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ । १० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौं भनिरहेका छन् । सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ । के भइरहेको छ । नच्यात्ने पक्षले चुनाव हुन दिन्नौं भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौं । यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौं भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो ।’
उपसभापति गुरुङले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने बताए । उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गरे । उनले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो सर्त रहेको उल्लेख गर्दै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताए ।