
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । कुल ८७ मध्ये ६५ सांसदको हस्ताक्षरसहित निवेदन पुगेको र अन्य सांसदहरूले वारेस पूर्वमहान्यायाधीक्ता खम्मबहादुर खातीमार्फत थप हस्ताक्षर बुझाएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
यसअघि मंसिर २३ मा कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका ८ जनाले रिट दर्ता गरेका थिए । रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । यसैबीच स्वतन्त्र सांसद योगेन्द्र मण्डल, जसपा र जनमतका एक–एक सांसदले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बरालसहित अन्य सांसदहरूले पनि रिट र हस्ताक्षर बुझाएका छन् । अहिलेसम्म विभिन्न दलका निवर्तमान सांसदहरूको हस्ताक्षर संख्या १ सय ४३ पुगेको छ ।