
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेकाले आपसी मतभेद भुल्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा एक जुट भएर लाग्न पार्टी सदस्यहरूलाई आह्वान गरेका छन् ।
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन उद्घाटन गर्दै राठौरले ८० वर्षको संघर्षपछि कांग्रेसले सुनिश्चित गरेको लोकतन्त्र र जनअधिकार संकटमा परेको भन्दै निर्वाचनलाई समाधानको उत्कृष्ट उपाय बनाउनुपर्ने बताए । उनले पार्टीको महाधिवेशन र सदस्यता वितरण अभियानलाई पनि देश र पार्टीको जीतमा केन्द्रित गर्न आग्रह गरे ।

सहमहामन्त्री राठौरले भ्रष्टाचार नियन्त्रण, सुशासन र जनसेवामा कमजोरीका कारण जनताको असन्तुष्टि बढेको भन्दै कांग्रेसले पहल गर्नुपर्ने बताए । उनले दलहरूले कानुनको कार्यान्वयन र जीवनशैली सुधारलाई मुद्दाका रूपमा अघि बढाएर मुलुकमा सुशासन दिनुपर्ने पनि बताए ।

कार्यक्रममा स्वर्गीय कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले अपनाएको सादाजीवन र उच्च विचारको मार्ग अनुशरण नगर्दा पार्टी र समाज दुवै प्रभावित भएको उनको टिप्पणी थियो ।