
काठमाडौं : अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ मा महिलातर्फकाे फुटसल प्रतियोगिताको उपाधि जितेपछि महिला वैदेशिक राेजगार व्यवसायी उत्साहित देखिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विभिन्न गतिविधि भए । त्यसमध्ये सरकारी तथा गैरसरकारी संस्थाका टिमहरूका बीचमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सर्वथा नाैलाे र फरक रूपमा सम्पन्न भयाे । निरन्तर व्यवसायमा लागेका महिला व्यवसायीहरूले फुटबल मैदानमा राम्रो प्रदर्शन गरेका थिए । जसका कारण उनीहरूलाई भविष्यमा पनि मैदान ओर्लने आत्मविश्वास जगाएकाे छ ।

महिला, पुरुष तथा व्यवसायीबीच सञ्चालन गरिएका खेलहरूमा महिलातर्फको प्रतिस्पर्धामा वैदेशिक रोजगार व्यवसायी संघकाे टिमले प्रथम स्थान हासिल गरेको थियो । संघकी कोषाध्यक्ष धनमाया सिंजाली टिम क्याप्टेन थिइन् भने द्वितीय स्थान हासिल गरेको श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टिमको नेतृत्व लक्ष्मी मरासिनीले गरेकी थिइन् ।
प्रतियोगितामा पुरुषतर्फको खेलमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेतृत्व गरेको टिम प्रथम र नेपाल वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले नेतृत्व गरेको टिम द्वितीय स्थानमा रह्यो ।

यसैगरी व्यवसायीहरूबीच आयोजित फुटसल प्रतियोगितामा रुपेन्द्र श्रेष्ठले नेतृत्व गरेको नाफिया-१ टिमले प्रथम स्थान हासिल गर्यो भने तुलसी पुरीले नेतृत्व गरेको नाफिया-२ टिमले द्वितीय स्थान हासिल गर्यो ।
प्रतियोगिताका विजेता टिमहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङले सम्पूर्ण सहभागी, आयोजक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रमको संयोजन गरेकी संघकी कोषाध्यक्ष धनमाया सिंजालीले यस पटकको विश्व आप्रवासी दिवसमा राम्रो तयारी बिना नै मैदानमा ओर्लिनुपरेको भन्दै आगामी दिनमा सकेसम्म पूर्वाभ्यास गरेर सशक्त रूपमा उत्रिने बताइन् । व्यवसायीहरू निरन्तर खेलकुदमा उत्रिनुपर्ने भन्दै उनले त्यसबाट शारीरिक रूपमा फुर्तिलो तथा मानसिक रूपमा चुस्त बन्न मद्दत गर्ने बताइन् ।
