२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

एनपिएल : लुम्बिनीको विजयी सुरुवात

Nada
२०८३ कार्तिक ९ गते १९:४१
Shares
एनपिएल : लुम्बिनीको विजयी सुरुवात

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीले सुखद् सुरुवात गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेखले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । निरोसन डिकवेलाले १० बलमा ७ रन बनाए । कप्तान रोहित पौडेल ५ रन र समिम हुसेन १ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि अनिल खरेलले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र  सिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले २ चौका प्रहार गरे । ओपनर सेफ जेबले १४ बलमा २ चौकाको सहयोगमा १३ रन बनाए ।

सुदूरपश्चिमका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । साड्ली भान साल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

सम्बन्धित खबर