
दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाद्वारा आयोजित तेस्रो मोना भलिबल कप प्रतियोगिताको उपाधि आयोजकले नै उचालेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा मोना क्रोएसियाले पहिलो दुई सेट जितेको थियो भने सुदूरपश्चिम समाजले अर्को दुई सेट आफ्नो पक्षमा पारेको थियो । निर्णायक अन्तिम सेटमा मोना क्रोएसियाले १५-८ को स्कोरसहित शानदार जित निकाल्दै उपाधि उचालेको हो ।
प्रतियोगिताको विजेताले ११ सय युरो नगदसहित मेडल र प्रमाणपत्र, उपविजेताले ७ सय युरो नगदसहित मेडल र प्रमाणपत्र हात पारेका छन् । कुल १० टिम सहभागी प्रतियोगितामा नवीन थापा उत्कृष्ट खेलाडी, विमल सुनुवार उत्कृष्ट स्पाइकर र रमेश गुरुङ उत्कृष्ट सेटर घोषित भएको कार्यक्रम संयोजक पुष्कर मगरले जानकारी दिए ।
क्रिसमसको अवसरमा स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित सम्पन्न प्रतियोगिता समाजकी अध्यक्ष सपना जुग्जालिको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका युवा संयोजक नुर्बु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बोसी बल कोर्ट जग्रिभमा सम्पन्न खेलको फाइनलमा क्रोएसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, भलिबल समर्थकसहित नेपाली तथा अन्य देशका नागरिकहरूको बाक्लो उपस्थिति रहेको मोना क्रोएसियाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले बताए ।
खेलकुदमार्फत स्वास्थ्य, एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिता ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । उक्त खेल प्रतियोगिताको मध्यान्ह दैनिक सञ्चार सहयोगीका रूपमा रहेको थियो ।