
रौतहटः रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिष्टिलरीमा बोइलर मेसिन विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर-८ बलुवा गाउँ निवासी ४५ वर्षीय लक्ष्मण राय यादव रहेका छन् । घाइते हुनेमा बलुवा गाउँकै ४५ वर्षीय रहमोद आलम, ३५ वर्षीय प्रमजित यादव, ५५ वर्षीय विगन यादव, ४० वर्षीय कैलाश माली, ५१ वर्षीय विगन यादव र गरुडा नगरपालिका–५ महमदपुरका ४० वर्षीय मुकेश यादव रहेका छन् ।
घाइतेहरूलाई तत्काल घटनास्थलबाट उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई एम्बुलेन्समार्फत वीरगञ्ज पठाइएको प्रहरीले जनाए छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहान करिब ९ बजेको समयमा उद्योगको बोइलर सेक्सनमा काम भइरहेका बेला अचानक विष्फोट भएको थियो। घटना लगत्तै डिएसपी विष्णुप्रदीप बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। विष्फोटका कारण डिष्टिलरीको भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। डिएसपी बस्यालका अनुसार अहिले प्रहरीको मुख्य प्राथमिकता घाइतेहरूको जीवन रक्षा र घटनास्थलको सुरक्षामा रहेको छ। उनले भने, ‘विष्फोटको वास्तविक कारणबारे प्राविधिक अनुसन्धान सुरु गरिसकेका छौँ।’
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै डिष्टिलरी क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले उद्योगधनीलाई तत्काल घाइतेहरूको उपचारमा लाग्न र उचित क्षतिपूर्तिको व्यवस्था गर्न निर्देशन दिएको छ।