
रौतहट : रौतहट जिल्ला अदालतले खोटा मुद्रा र जग्गा किर्ते तथा ठगीमा संलग्न पाँच जना प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले चलाएको अनुसन्धान र सरकारी वकील कार्यालयको अभियोग पत्रमाथि सुनुवाइ गर्दै अदालतले आइतबार यस्तो फैसला सुनाएको हो ।
खोटा मुद्रा (नक्कली नोट) सम्बन्धी कसुरमा संलग्न तीन जनालाई अदालतले कारागार पठाएको हो । पक्राउ पर्ने र जेल चलान हुनेहरूमा भारतको मोतिहारी जिल्ला कुडवा चैनपुरका २३ वर्षीय जयप्रकाश कुमार, रौतहट बौधीमाई नगरपालिका–२ घर भई हाल देवाही गोनाही नगरपालिका–४ बस्ने २१ वर्षीय गेनालाल राउत पटेल र सोही स्थानका २० वर्षीय अजय पटेल रहेका छन् ।
उनीहरूलाई गत मंसिर १६ गते साँझ रौतहटको ईशनाथ नगरपालिका–४ लत्मरीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । नक्कली नोटको कारोबार गरी आर्थिक अपराध गरेको अभियोगमा अनुसन्धान पूरा गरी प्रहरीले उनीहरूलाई अदालत पेस गरेको थियो । आइतबारको आदेशसँगै उनीहरूलाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि थुनामा पठाइएको हो ।
दोस्रो घटनामा जग्गा किर्ते, ठगी, आपराधिक लाभ र विश्वासघातको गम्भीर आरोप लागेका दुई जनालाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जेल चलान हुनेहरूमा रौतहट कटहरिया नगरपालिका–१ का ४२ वर्षीय रामपुकार महतो कोइरी र मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ का ५२ वर्षीय राधाकृष्ण उपाध्याय रहेका छन् ।
काठमाडौँ महानगरपालिका–३१ बस्ने केशव प्रसाद पौड्याल लगायतको जाहेरी अनुसार प्रतिवादीहरूले रौतहटको कटहरियास्थित २४ वटा कित्तामा फैलिएको कुल ९ बिगाहा १८ कठ्ठा १५ धुर जग्गा हडप्न अदालतको नक्कली फैसला र पत्र तयार पारेका थिए । उनीहरूले रौतहट जिल्ला अदालतको नाममा किर्ते फैसला र पत्र खडा गरी योजनाबद्ध ढंगले सो जग्गा आफ्नो नाममा दाखिला (नामसारी) गराएका थिए ।
लामो समयदेखि लुकिछिपी बसिरहेका कोइरी र उपाध्यायलाई प्रहरीले गत कात्तिक ११ गते पक्राउ गरेको थियो । सरकारी लिखत किर्ते गरी ठूलो परिमाणको सम्पत्ति ठगी गरेको भन्दै अदालतले उनीहरूलाई पनि पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार दुवै घटनामा संलग्न प्रतिवादीहरूलाई जिल्ला सरकारी वकील कार्यालय मार्फत अदालत पेस गरिएको थियो । सम्मानित अदालतको मिति यही पुस १३ गतेको आदेशानुसार ५ जना प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उनले जनाए ।