
काठमाडौं : पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई जेनजी पुस्ताको भावना विपरीत र सुनियोजित आक्रमणको परिणाम भएको बताएका छन् । जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलनमा उनले ती घटनामा घुसपैठ भएको दाबी गरे ।
उनका अनुसार राज्यका प्रमुख निकाय, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमाथि एकै दिन भएको तोडफोड र आगजनी क्षणिक आवेगको उपज हुन सक्दैन । यस्तो विनाश राष्ट्र, लोकतन्त्र र स्वाभिमानमाथिको नियोजित षड्यन्त्र भएको उनको ठम्याइ छ ।
लेखकले जेनजी युवाको असल मनोभावनालाई दुरुपयोग गरिएको भन्दै आपराधिक गतिविधिमा संलग्न जोसुकैलाई कडा कारबाही गर्नुपर्ने र प्रदर्शनमा कसले कसरी घुसपैठ गर्यो भन्ने विषयमा आयोगले गहिरो अनुसन्धान गर्नुपर्ने बताएका छन् ।