२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सम्पर्कविहीन विद्यालय, बेखबर महानगर

बन्द भएका विद्यालयको विद्यार्थी अभिलेख खोज्न कहाँ जाने ?

shivam cement
सपना बोहरा
२०८२ पुष १५ गते ०६:२५
Shares
सम्पर्कविहीन विद्यालय, बेखबर महानगर

काठमाडौं : आफूले अध्ययन गरेको विद्यालयबाट कुनै पनि बेला आवश्यक कागजात, सिफारिस र चारित्रिक प्रमाणपत्र हराएमा प्रतिलिपि लिनुपर्ने हुन्छ । तर आफूले अध्ययन गरेको विद्यालयको नै नामोनिशान नहुँदा के हुन्छ ? यस्तै समस्यामा पर्ने भएका छन् काठमाडौं महानगरका निजी विद्यालयमा अध्ययन गरेका हजारौं विद्यार्थी । 

काठमाडौं महानगरपालिका शिक्षा समितिको गत साउन २८ गते १ सय ७ विद्यालयलाई सम्पर्कमा नआए विद्यालय सञ्चालन अनुमति खारेज गरिदिने सूचना प्रकाशित गरेको छ । साथै सोही सूचनामा सम्पर्क गर्नुपर्ने विद्यालयको सूची पनि सार्वजनिक गरिएको छ । महानगरले सार्वजनिक गरेको सूचीमा केही विद्यालय दुई दशकसम्म सञ्चालन रहेका र हाल बन्द भएका विद्यालय पनि छन् । यद्यपि आफैंले सञ्चालन अनुमति दिएका र केही समय सञ्चालन रहेका विद्यालयको यकिन तथ्यांक महानगरसँग छैन ।

अनुमति लिएर कहिल्यै सञ्चालन नगरेका र सञ्चालनमा आएर पछि बन्द भएका विद्यालयसमेत उक्त सूचीमा परेको काठमाडौं महानगरपालिकाको शिक्षा विभागका विभागीय प्रमुख केशव ज्ञवाली बताउँछन् । ‘अभिलेखअनुसार सञ्चालनमा देखिए पनि वास्तविक रूपमा फिल्डमा नदेखिएका सबै विद्यालयलाई अन्तिम सूचना जारी गरिएको हो,’ उनले भने, ‘तर तोकिएको समयभित्र पनि कोही सम्पर्कमा नआएपछि विद्यालय बन्द गर्ने निर्णय गर्न लागिएको हो ।’ ती विद्यालयहरू कहिलेदेखि सञ्चालन भएर के कारणले स्थलगत रूपमा देखिएनन् भन्ने मध्यान्हकर्मीको प्रश्नमा उनले भने, ‘हामीलाई ती विद्यालयबारे केही जानकारी नभएर नै सम्पर्कमा आउन अनुरोध गरेका हो ।’

काठमाडौंको शंखमूलस्थित प्यासिफिक एकेडेमी महानगरको शिक्षा विभागमा स्थलगत रूपमा सञ्चालनमा नआएको भन्दै सदाका लागि विद्यालय बन्द गर्ने तयारी सूचीमा राखिएको छ । २०४९ सालमा स्थापना भएको सो विद्यालयको वेवसाइटमा भने विद्यालयबारे विवरण उल्लेख छन् । तर विद्यालय बन्द भएको करिब एक दशक हुन थालेको छ । के कति कारणले बन्द भएको भन्ने जानकारी लिन वेबसाइटमा रहेको  नम्बरमा भने सम्पर्क हुन सकेन । शंखमूलमा स्थापना भएको यस एकेडमीबारे महानगरको शिक्षा विभाग जानकार छैन । 

सोही विद्यालयसँगै रहेको लालीगुराँस राष्ट्रिय सेकेन्ड्री स्कुल पनि महानगरको विद्यालय बन्द गरिने सूचीमा छ । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन र मानविकी संकाय सञ्चालनमा रहेको सो विद्यालयमा स्नातकसम्म अध्यापन गरिँदै आएको थियो । सो विद्यालमा कक्षा १० सम्म पनि सञ्चालन गर्ने उद्देश्यले नेसनल एकेडेमी विद्यालयलाई मर्ज गरेर सञ्चालन गरिएको दुई वर्षमै बन्द भएको छ । हाल त्यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीका आवश्यक विवरणहरू अलपत्र छन् । त्यसैगरी दुई दशकभन्दा बढी समय सञ्चालन गरिएको शंखमूलकै विराट बोर्डिङ स्कुल पनि बन्द छ । सो विद्यालयमा कुनै समय ८ सयसम्म विद्यार्थी रहेको पूर्वशिक्षक सन्तोष पौडेल बताउँछन् । विद्यालय बन्दबारे उनी भन्छन्, ‘कमजोर विद्यालय व्यवस्थापन, अन्य विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्दा विद्यालय बन्द भएको हो ।’ 

त्यस्तै, मध्य बानेश्वरमा रहेको एक्ससिस इन्टरनेसनल स्कुल पनि सम्पर्कविहीन छ । विद्यालयको  वेवसाइटमा भने काठमाडौंको प्राइभेट स्कुल हो भनेर उल्लेख गरिएको छ । त्यसबाहेक अन्य जानकारी छैन । 

शिक्षा विभागले बन्द गरिने भन्दै प्रकाश गरिएको सूचीसहितका विद्यालयका वेवसाइटहरू एक्टिभ छैनन् । त्यहाँ राखिएका अधिकांश सम्पर्क नम्बरहरू पनि बन्द छन् । साई शिक्षा निकेतन स्कुलको पेजमा राखिएको सम्पर्क नम्बरमा फोन लागेको थियो । तर सञ्चालकले खुलेर कुरा गर्न चाहेनन् । ‘हामीले महानगरलाई वार्षिक कर तिर्दै आएका छौं, पहिलेको ठाउँबाट विद्यालय सारिएको छ,’ भन्दै उनले फोन काटे । सो विद्यालयको स्कुलको पेज दुई वर्ष पहिले वैशाखमा खोलिएको छ । पेजमा स्कुलको प्रिन्सिपल सुजता पौडेलले २०८० सालको एसइई परीक्षाका आठ जना उत्र्तीण विद्यार्थीलाई बधाई दिएको तस्बिर पोस्ट गरिएको छ । त्यसबाहेक स्कुलको ठेगानालगायत अन्य कुनै जानकारी छैन । 

त्यस्तै, शहीद रामनाथ दाहाल स्मृति सेकेन्डरीको बारे त केही उल्लेख छैन । नेपालबाट चार जनाले  र भारतबाट एक जनाले पेजको व्यवस्थापन गर्ने उल्लेख छ । तीन दिन पहिले बिबिए र बिबिए  फाइनान्स संकायमा स्कलरसिपको अफर भन्दै सूचना पोस्ट गरिएको छ । त्यहाँ दिएको तीनवटै सम्पर्क नम्बरमा फोन भने लाग्दैन । 

यसरी नै महानगरपालिकाभित्र विभिन्न संकायमा पढाइने भन्दै स्थापना भएका कलेज, तथा स्कुल स्थलगत नदेखिएको भन्दै सम्पर्कमा आउन अनुरोध गरेको छ । शिक्षा विभागको सूचीमा रहेको विद्यालय सम्पर्क गर्न खोज्दा अधिकांशमा फोन लाग्दैन, पेज पनि एक्टिभ छैनन् । 

यता महानगरको शिक्षा विभागले सोमबार बैठक बसेर ती विद्यालयको सञ्चालन अनुमति खारेज गर्दै कार्यपालिका बैठकमा सिफारिस गर्ने निर्णय गरेको छ । महानगरले यसअघि नै साउन महिनामा शिक्षा विभागको बैठकले विद्यालय अनुमति खारेज गर्ने निर्णय गरिसकेको थियो । त्यसयता पनि कुनै विद्यालय सम्पर्कमा नआएपछि विभागको निर्णयलाई कार्यपालिका बैठकमा पेस गर्नेगरी विद्यालयको सूची सार्वजनिक गरिएको महानगरपालिकाको शिक्षा विभागका विभागीय प्रमुख केशव ज्ञवालीले स्पष्ट पारे । विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल स्थलगत रूपमा नरहेका विद्यालयहरूलाई सम्पर्कमा आउन आह्वान गरिएको उनले बताए । ‘स्थलगत रूपमा अनुगमन, रुजु, यकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेस गर्ने निर्णयानुसार काठमाडौं महानगरपालिका शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमन गरिएको थियो,’ उनले भने, ‘स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक सञ्चालक÷व्यवस्थापक÷गुठियारलाई सम्पर्कमा आउन आह्वान गरेका छौं ।’

काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (८) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने पनि उनले जानकारी गराए । 

सम्बन्धित खबर