
रौतहट : नेपाल नेत्रज्योति संघ रौतहट शाखाको ३१औं वार्षिक साधारण सभा गौर आँखा अस्पताल पुरेनवाको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष एवं गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अस्पतालको प्रगति चुनौती र आगामी लक्ष्यबारे विस्तृत छलफल गरिएको थियो ।
साधारण सभाका प्रमुख अतिथि एवं नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै गौर आँखा अस्पताललाई यो उचाइमा पुर्याउन विभिन्न क्षेत्रका व्यक्तिहरूको अमूल्य योगदान रहेको चर्चा गरे । उनले निजी क्षेत्रका अस्पतालहरू प्रचारबाजीमा बढी केन्द्रित हुने गरेको उल्लेख गर्दै नेत्रज्योति संघद्वारा सञ्चालित अस्पतालहरूले भने प्रचारभन्दा गुणस्तरीय सेवालाई प्राथमिकता दिएको बताए ।
‘हामी सेवाको गुणस्तरमा विश्वास गर्छौं, त्यसैले जनविश्वास बढ्दो छ,’ पोखरेलले भने, ‘आगामी दिनमा हाम्रो सेवालाई अझ व्यापक बनाउन स्थानीय स्तरसम्म प्रचार–प्रसारका कार्यहरूलाई पनि अगाडि बढाउनेछौं ।’
संघ मधेश प्रदेशका सभापति एवं सागरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले आँखा शरीरको अति संवेदनशील अंग भएको बताउँदै समयमै हेरचाह र खानपानमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा राजनीतिकर्मी एवं समाजसेवी रेबन्त झाले गौर आँखा अस्पतालले रौतहटबासीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताबाट मुक्ति दिएको बताए । नेपालका सीमावर्ती क्षेत्रका साथै भारतको सिवान, छपरा, पूर्वी चम्पारण, पश्चिमी चम्पारण, वैशाली र उत्तरप्रदेशबाट समेत ठूलो संख्यामा बिरामीहरू उपचारका लागि यहाँ आउनुले अस्पतालको विश्वसनीयता र गुणस्तर पुष्टि गरेको उनको भनाइ थियो ।
अस्पतालका प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरीले स्थापनाकालदेखि हालसम्मका विभिन्न बाधा–अवरोध पार गर्दै ३१औं वर्षमा प्रवेश गर्नु गौरवको विषय भएको बताए । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार हालसम्म १७ लाख ८० हजार ५ सय ९० जनाले सेवा लिएका छन् ।
१ लाख ९१ हजार ७ सय २९ जनाको सफल शल्यक्रिया गरिएको छ । आधुनिकीकरणका लागि अझै केही उपकरणहरूको अभाव रहे तापनि उपलब्ध स्रोत साधनबाटै उत्कृष्ट सेवा प्रदान गरिरहेको उनले प्रष्ट पारे । साधारण सभामा संघका जिल्ला सचिव बच्चा प्रसाद यादवले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, मधेश प्रदेश अध्यक्ष रबीन्द्रलाल चौधरी, निवर्तमान अध्यक्ष दुर्गा प्रसाद यादव, वरिष्ठ सञ्चारकर्मी प्रभातकुमार झा तराई टप अस्पताल कर्मचारी मनोज पासवान, अप्टिसिएन चालक गौरीशंकर राउत छन् ।
यस्तै, नेपाल–भारत मैत्री संघका अध्यक्ष गृषनन्दन सिंह, मध्यान्हकर्मी सत्येन्द्र प्रताप सिंह, विजय श्रीवास्तव, चन्दनकुमार पटेल र मनोज यादवलाई मायाको चिनो प्रदान गरिएको थियो । सञ्जीवकुमार मल्लिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष दुर्गा प्रसाद यादव, वरिष्ठ चिकित्सक डा. सुरेन्द्र मिश्र, अस्पतालका कर्मचारीहरू र संघका आजीवन सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।