२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

shivam cement
२०८२ पुष १६ गते १३:२९
Shares
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

मोरङ : गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिएका छन् ।

गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उनले फरार अधिकांश कैदीबन्दी सम्पर्कमा भइसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथाशीघ्र नियन्त्रणमा ल्याइने बताए । 

गृहमन्त्री अर्यालले भने, “राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषयप्रति सरकार संवेदनशील भएर काम गरिरहेको छ । दलसँगको वार्ता र संवादको समेतको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यतिकै उत्तरदायी रहेको छ ।” भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उनले बताए । 

सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात्का कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उनले जानकारी दिए । गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताए । 

उनले निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्ने बताए । उनले भने, “निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुन्छ । देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।” 

निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेड’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको गृहमन्त्री अर्यालको भनाइ छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गरे । उनले निर्वाचनको वातावरण अझै बनिनसकेको बताए । मुख्यमन्त्री कार्कीले भने, “निर्वाचन आउन दुई महिना बाँकी त्यसको  वातावरण निर्माण गर्नुपर्छ ।”

सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधनस्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराए ।

उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलगायले सम्बोधन गरेका थिए ।

सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, कोशी प्रदशेका १४ वटै जिल्लाका सुरक्षा प्रमखहरुको सहभागिता रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर