
काठमाडौं : अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याका कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ ।
उनले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए । उनले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत बताए ।
उनले सरोकारवाला निकायहरूले विदेशी नागरिकहरूले नेपालमा रहँदा गर्ने क्रियाकलापबारे ध्यान नदिएका कारण मुलुकको सांस्कृति र तथा शान्ति सुव्यवस्था खल्बलिएको बताए ।