
काठमाडौं : प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबिएन) बीच आज पत्रकार आचारसंहिता, समाचार सम्प्रेषण तथा पत्रकारिताको अभ्यासमा देखिएका चुनौतीलगायतका विषयमा छलफल भएको छ ।
पिएसबिएनको निमन्त्रणामा काउन्सिल अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोली र पिएसबिएनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टसहितको टोलीबीच छलफल भएको हो ।
छलफलका क्रममा काउन्सिल अध्यक्ष डा. आचार्यले आफू काउन्सिलमा नयाँ सोच र कार्यशैली लिएर आएको बताउँदै काउन्सिललाई यही रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘म काउन्सिलमा अधिकार प्रयोग गर्न आएको होइन, कर्तव्य पालना गर्न आएको हुँ, त्यही गर्छु,’ अध्यक्ष डा. आचार्यले भने, ‘नयाँ परिस्थितिमा प्रत्येक पत्रकार र सञ्चारमाध्यमले आफ्नो मनस्थिति बदल्नुपर्छ । दृष्टिकोण नबदली दृश्य बदलिँदैन ।’
उनले आफूले पत्रकार र सञ्चारमाध्यमलाई दण्डनात्मक नभइ सुधारात्मक दृष्टिकोण अपनाएर अघि बढाउने धारणा राखे ।
.jpg)
पिएसबिएनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबिएन पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउँदै काउन्सिललाई अझै स्वतन्त्र, स्वायत्त बनाउनमै जोड दिनुपर्ने बताए ।
काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले पत्र मात्रै काट्ने नभइ पत्रकारलाई कर्तव्यबोध गराउन सञ्चारमाध्यममा स्थलगत अनुगमन गर्न थालेको जानकारी दिए ।
काउन्सिल अध्यक्ष डा. आचार्यलाई विशेष स्वागत गरिएको उक्त कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, पिएसबिएनका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, एनटिभीका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र रेडियोका समाचार प्रमुख पवन प्याकुरेल, नेपाल पत्रकार महासंघ रेडियो शाखाका अध्यक्ष भुषण पोखरेललगायतले आ-आफ्नो धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ एनटिभी शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले सहजीकरण गरेको उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित पिएसबिएनका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।
.jpg)