२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

गौरको नयाँ पहिचान : लालबकैया नदीमा निर्मित झोलुंगे पुलमा पर्यटकको ओइरो

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष १७ गते १९:१९
Shares
गौरको नयाँ पहिचान : लालबकैया नदीमा निर्मित झोलुंगे पुलमा पर्यटकको ओइरो

रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा नवनिर्मित झोलुंगे पुल नयाँ वर्षको पहिलो दिन पर्यटकीय गन्तव्यको रूपमा झुल्किएको छ । नगर प्रमुख शम्भु साहको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको यस पुलले यातायात सहज मात्र बनाएको छैन बरु रौतहटकै एक उत्कृष्ट ‘भिजिटिङ स्पट’ को परिचय समेत पाएको हो ।

नयाँ वर्ष मनाउने क्रममा बिहीबार बिहानैदेखि गौर नगर क्षेत्रका स्थानीय बासिन्दाका साथै रौतहटका अन्य पालिका र छिमेकी जिल्लाहरू तथा भारतबाट समेत पर्यटकहरू यहाँ आइपुगेका छन् । २ सय ५९ मिटर लम्बाई रहेको यो आकर्षक पुलमा उभिएर लालबकैया नदीको दृश्य नियाल्ने, तस्बिर खिच्ने र भिडियो (टिकटक/रील) बनाउने युवायुवती तथा परिवारहरूको लर्को देखिएको हो ।

स्थानीय एक पर्यटकले खुसी व्यक्त गर्दै भने, ‘पहिले नदी तर्न डुंगाको भर पर्नुपर्थ्यो वा धेरै घुमेर जानुपर्थ्यो । अहिले पुल बनेपछि समयको बचत मात्र भएको छैन, नयाँ वर्ष मनाउनका लागि हामीले आफ्नै शहरमा यति राम्रो ठाउँ पाएका छौं ।’

लामो समयदेखि अलपत्र अवस्थामा रहेको यस पुलको निर्माण कार्यलाई पूर्णता दिन नगर प्रमुख शम्भु साहले पदभार ग्रहण गरेदेखि नै विशेष चासो देखाएका थिए । उनकै पहलमा प्राविधिक अवरोधहरू हटाएर करिब ४ करोड २९ लाखको लागतमा यो परियोजना सम्पन्न भएको हो । 

नगर प्रमुख साहले यस अवसरमा प्रतिक्रिया दिँदै भने, ‘हामीले गौरलाई समृद्ध र आधुनिक बनाउने जुन संकल्प गरेका थियौं, यो पुल त्यसैको एक कडी हो । यसले वडा नम्बर २ का बासिन्दालाई मात्र नभई सम्पूर्ण गौरवासीको जीवनस्तर र स्थानीय पर्यटनलाई टेवा पुऱ्याउनेछ ।’

पर्यटकहरूको उल्लेखनीय उपस्थितिसँगै पुल वरपरका साना पसल, होटल र व्यापारिक प्रतिष्ठानहरूमा चहलपहल बढेको छ । नयाँ वर्षका कारण स्थानीय व्यवसायीहरूले राम्रो आम्दानी गरेका छन् । पर्यटकीय चहलपहल बढ्दा गौर नगरपालिकाले यस क्षेत्रलाई थप व्यवस्थित बनाउन उद्यान (पार्क) र लाइटिङको व्यवस्था गर्ने योजना समेत अघि सारेको हो ।

झोलुंगे पुलको निर्माणसँगै गौर–२ अब केवल प्रशासनिक र आवासीय क्षेत्र मात्र रहेन, यो रौतहटको एक मुख्य पर्यटकीय हबका रूपमा विकसित भएको हो ।

सम्बन्धित खबर