
नवलपरासी : नयाँ वर्षको अवसरमा पश्चिम नवलपरासीको प्रमुख सीमा नाका महेशपुर हुँदै ठुलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिएका छन् । पछिल्ला दुई दिनमा मात्रै ६ सय भन्दा बढी भारतीय पर्यटक विभिन्न सवारीसाधनसहित नेपाल भित्रिएका महेशपुर भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार भारतीय पर्यटकहरू मोटरसाइकल, कार तथा अन्य सवारीसाधन प्रयोग गरी नेपाल आएका हुन् । नेपाल भ्रमणमा आएका अधिकांश पर्यटक पोखरा, नारायणघाट, काठमाडौं, चितवन, मुक्तिनाथ, पाल्पा, बुटवल तथा त्रिवेणी धामजस्ता धार्मिक तथा पर्यटकीय स्थल भ्रमण गर्ने उद्देश्यले आएका छन् ।
नेपाल प्रवेश गरेका भारतको गोरखपुर घर भएका एक व्यवसायीले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै नेपालमा प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका स्थल प्रशस्त भएकाले परिवारसहित नयाँ वर्ष मनाउन नेपाल आएको बताए । उनका अनुसार विशेषगरी पोखरा र मनकामना मन्दिर घुम्ने योजना रहेको छ ।
महेशपुर भन्सार कार्यालयका कर्मचारी कमल शर्माका अनुसार बुधबार र बिहीबारको अवधिमा मात्रै ६ सय भन्दा बढी भारतीय पर्यटकले आफ्ना मोटरसाइकल तथा सवारीसाधनको भन्सार प्रक्रिया पूरा गरेका छन्। नयाँ वर्ष, सार्वजनिक बिदा तथा नेपाल–भारतबीचको सहज आवागमनका कारण यसपटक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए ।
पर्यटकको आवागमन बढेसँगै महेशपुर नाकामा चहलपहल बढेको छ । यसले होटल, रेस्टुरेन्ट, यातायात सेवा तथा स्थानीय व्यापार–व्यवसायमा सकारात्मक प्रभाव परेको देखिएको छ ।