
काठमाडौं : गत भदौ २३ र २४ गते भएको घटनाबारे जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्नपत्र पठाएको छ । आयोग स्रोतका अनुसार दुवै नेतासँग घटनासम्बन्धी स्पष्टिकरण मागिएको हो ।
भदौ २४ गते देशभर प्रदर्शन उग्र बन्दा आगजनी र तोडफोड भएको थियो । त्यसक्रममा बूढानिलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारी पसेर देउवा र उनकी पत्नी आरजु राणामाथि कुटपिट भएको थियो । पछि नेपाली सेनाले उद्धार गरेको थियो ।
प्रचण्ड भने प्रदर्शनका बेला सिंहदरबारभित्र थिए र सेनाकै सहयोगमा सुरक्षित निकालिएका थिए । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिन पत्र लेख्ने तयारी गरिरहेको छ । ओलीले बयान नदिने अडान राखेपछि आयोगका पदाधिकारी स्वयं उपस्थित भएर बयान लिन सक्ने बताइएको छ ।
यस घटनामा आयोगले १ सय ५० भन्दा बढी व्यक्तिको बयान लिइसकेको छ । यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङलगायत सुरक्षा र प्रशासनिक निकायका उच्च अधिकारीको पनि बयान लिइसकेको छ ।