
रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौरमा ट्राफिक नियमको पालना गराउने जिम्मेवारी पाएको ट्राफिक प्रहरी कार्यालयका प्रमुखको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गौरका प्रमुख रामबली महतोको लापरबाही र दोहोरो मापदण्डका कारण सवारी दुर्घटना बढ्नुका साथै सर्वसाधारण मारमा परेको आरोप स्थानीयले लगाएका छन् ।
विशेषगरी सदरमुकाम गौरदेखि आसपासका क्षेत्रमा चल्ने डाँफे नामका ई–रिक्साहरूले खुलेआम ट्राफिक नियम उल्लंघन गरिरहँदा पनि ट्राफिक प्रमुख महतोले कुनै ठोस कारबाही नगरेको गुनासो व्यापक बनेको छ ।
स्थानीयका अनुसार गौर बजारमा सञ्चालित अधिकांश डाँफे ई–रिक्साहरूको नम्बर प्लेट मेटिएको वा प्रस्ट नदेखिने अवस्थामा छन् । धेरैजसो चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारीको ब्लु–बुक समेत नभएको पाइएको हो ।
‘कुन नियमले यी सवारी साधनहरू सडकमा निर्बाध गुडिरहेका छन्, त्यो बुझ्न सकिएन,’ एक मोटरसाइकल चालकले भने, ‘हामी सर्वसाधारणले झुक्किएर कागजपत्र बोक्न बिर्सिँदा वा सानो गल्ती गर्दा ट्राफिकले तत्कालै जरिवाना काट्छन् । तर, डाँफे ई–रिक्सा चालकहरूले जतिसुकै गल्ती गरे पनि ट्राफिक प्रहरी चुँसम्म बोल्दैनन् । यसले ट्राफिक प्रशासन र ई–रिक्सा व्यवसायीबीच केही भित्री मिलेमतो भएको आशंका जन्माएको छ ।’
ट्राफिक व्यवस्थापन फितलो हुँदा सदरमुकाममा सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । कतिपय अवस्थामा सवारी साधनले दुर्घटना गराएर फरार हुँदा समेत ट्राफिक प्रहरीले तिनीहरूलाई पहिचान गर्न र कानुनी दायरामा ल्याउन सक्रियता नदेखाएको पीडितहरूको आरोप छ । नियमविपरीत चल्ने सवारीलाई कडाइ नगर्दा सडकमा अराजकता बढेको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।
सवारी नियम सबैका लागि समान हुनुपर्ने भन्दै गौरका स्थानीयले नियमविपरीत चल्ने जुनसुकै सवारी साधनलाई कारबाही गर्न माग गरेका छन् । ट्राफिक प्रमुख रामबली महतोले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेको र पहुँचवालालाई काखा तथा सर्वसाधारणलाई पाखा गरेको भन्दै यसबारे माथिल्लो निकायले अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो ।
यस विषयमा ट्राफिक प्रमुख महतोको आधिकारिक धारणा बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर, बढ्दो जनगुनासोले गौरको ट्राफिक व्यवस्थापनमा ठूलो सुधारको आवश्यकता औंल्याएको हो ।