२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ओखलढुंगामा स्कुल ब्याग वितरण 

shivam cement
२०८२ पुष १९ गते १६:१५
Shares
ओखलढुंगामा स्कुल ब्याग वितरण 

ओखलढुंगा : शिक्षा फाउन्डेसन र ओखलढुंगा विपद् व्यवस्थापन समाजको संयुक्त सहकार्यमा ओखलढुंगास्थित ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने, अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्ने तथा भविष्यप्रति आत्मविश्वास जगाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको हो ।  

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै ओखलढुंगा विपद् व्यवस्थापन समाजका अध्यक्ष तथा पोकलि झरना समाजका संस्थापक अध्यक्ष गुरु केदार बरालले शिक्षा नै दीगो समाज निर्माणको मूल आधार भएको उल्लेख गरे । उनले विद्यार्थीहरूलाई ‘दूधजस्तै सफा आधार तयार गरी दही र घ्यूजस्तै परिपक्व, सक्षम र जिम्मेवार नागरिक बन्नुहोस्‌’ भनेर प्रेरणादायी सन्देश दिए । 

अध्यक्ष बरालले ओखलढुंगा विपद् व्यवस्थापन समाज आपतविपत पर्दा मात्रै सक्रिय हुने संस्था नभई समाजको समग्र विकास, व्यवस्थापन, चेतना अभिवृद्धि तथा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशील रहेको स्पष्ट पारे । उनले जिल्लाका विभिन्न स्थानमा स्कुल ब्याग वितरण, विपद् पूर्वतयारी, सचेतना कार्यक्रम, सामाजिक सहयोग तथा विकासका गतिविधिहरू सञ्चालन हुँदै आएको जानकारी गराए । 

उनले विद्यालयसम्म पुग्ने बाटो अत्यन्तै अप्ठ्यारो रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा वास्तविक उन्नतिका लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताए । साथै, विद्यालय जाने बाटो पिच गर्न सम्बन्धित निकाय तथा सरोकारवालासँग हार्दिक अनुरोध गरे । 

कार्यक्रममा लिखु गाउँपालिका–६ का वडा अध्यक्ष टीका मगरले उक्त विद्यालय नमुना विद्यालयका रूपमा विकास हुँदै गए पनि अझै विभिन्न अभावहरू रहिरहेको उल्लेख गरे । यस्तो अवस्थामा विद्यार्थीहरूलाई हौसला र प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका लागि उनले शिक्षा  फाउन्डेसन र ओखलढुंगा विपद् व्यवस्थापन समाजलाई हार्दिक धन्यवाद व्यक्त गरे । 

त्यसैगरी, लिखु गाउँपालिका–७ का वडा अध्यक्ष ताराबहादुर तामाङले समग्र गाउँ विकास, विद्यार्थीहरूको उज्वल भविष्य तथा गाम्लाङदेखि पोखरीसम्मको सडक पिच गरिनुपर्ने आवश्यकताबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायसँग आवश्यक पहल गर्न अनुरोध गरे । 

कार्यक्रममा कोशी प्रदेश ओखलढुंगाका सांसद बाबुराम गौतमले सत्य, इमानदारी र जिम्मेवारीका साथ काम गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै समाजप्रति उत्तरदायी बन्न सबैलाई आग्रह गरे । त्यस्तै, नेपाली कांग्रेसका युवा नेता कुमार लुइँटेलले विद्यार्थीहरूलाई समयमै हौसला र प्रेरणा दिन सकिए उनीहरूको आत्मविश्वास अझ सशक्त हुने धारणा व्यक्त गरे । 

शिक्षा फाउन्डेसनका गतिविधिबारे जानकारी गराउँदै समाजसेवी दिनेश कार्कीले अध्यक्ष गुरु केदार बरालको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा स्कुल ब्याग वितरण लगायतका सामाजिक कार्यहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए । 

त्यसैगरी, पूर्व प्रधानाध्यापक तथा शिक्षिका नेत्रकुमारी पौडेलले ओखलढुंगा विपद् व्यवस्थापन समाजसँग सहकार्य गर्न पाएकोमा तथा आफ्ना मागहरू छिटोभन्दा छिटो पूरा गरिएकोमा विशेष धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै ओखलढुंगा विपद् व्यवस्थापन समाजका उपाध्यक्ष तथा गामलुंगटार सेवा समितिका संस्थापक अध्यक्ष बाबुराम श्रेष्ठले अध्यक्ष गुरु केदार बराल र आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरही विशुद्ध सामाजिक भावनाबाट निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको कुरा उपस्थित सबैलाई जानकारी गराए । 

कार्यक्रमकै अवसरमा विद्यालयको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याएकामा पुर्व प्रधानाध्यापक नेत्रकुमारी पौडेललाई विशेष सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरु केदार बरालले शिक्षक–शिक्षिकाप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा उहाँहरूको भूमिकाको उच्च प्रशंसा गरे ।

सम्बन्धित खबर