
काठमाडौँ : राजनीतिप्रति खासै चासो नराख्ने बैतडी दशरथचन्द–६ का निरज पन्त गत भदौ २४ गते सामान्य दिनझैँ खाना खाएर हात्तीगौडास्थित आफ्नो पसल जान घरबाट निस्किएका थिए । तर, उनी न पसल पुगे न त घर नै फर्किए । काठमाडौँको ग्राण्डी चोक बस्दै आएका पन्तको महाराजगञ्जमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा गोली लागेर मृत्यु भयो ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै भदौ २३ गतेदेखि चर्किएको आन्दोलन २४ गते महाराजगञ्जमा उग्र बनेको थियो । आन्दोलनकारी र प्रहरीबिच घम्साघम्सी चलिरहेका बेला पन्त कौतूहलवश आन्दोलन हेर्न पुगेका थिए ।
उनले आफू चढेको मोटरसाइकल ‘टिपटप’ नजिक राखेर भिडमा मिसिएको केही समयमै छाती र पेटमा दुईवटा गोली लाग्यो । उनको घटनास्थलमै मृत्यु भयो । उक्त घटनामा पन्तसहित चार जनाले ज्यान गुमाएका थिए ।
पन्तकी श्रीमती कमला अवस्थीका अनुसार उनी पसल जान्छु भनेर हिँडेका थिए । तर, २४ घण्टासम्म उनको अवस्थाबारे परिवारलाई केही जानकारी भएन। फोन सम्पर्क नभएपछि र मान्छे घर नफर्किएपछि परिवारमा छटपटी सुरु भयो ।
भोलिपल्ट महाराजगञ्जमा गोली लागेर मानिसहरूको मृत्यु भएको खबर आएपछि खोजी गर्दा शिक्षण अस्पताल (टिचिङ) मा उनको शव फेला परेको थियो । अस्पतालमा कार्यरत आफन्तले शव पहिचान गरेपछि मात्र परिवारले उनको मृत्यु भएको थाहा पाएका थिए । उनको पर्स र मोबाइल अझै भेटिएको छैन ।
निरजका बुबा कीर्तिबल्लभका अनुसार छोराले आन्दोलनकारीले प्रहरीलाई कुटेको देखेपछि रोक्न खोज्दा गोली लागेको भन्ने सुनिएको छ । यद्यपि, परिवारका अनुसार निरज घरमा कहिल्यै राजनीतिक कुरा गर्दैनथे ।
घटनाको अघिल्लो दिन उनले बुबाआमालाई आन्दोलन चर्किएको सुनाएका थिए र बुबाआमाले उनलाई भिडभाडमा नजान सुझाएका थिए । तर, नियतिले उनलाई त्यही भिडमा पुर्यायो ।
साइप्रसबाट होटल म्यानेजमेन्ट पढेका र योग तथा आयुर्वेदमा रुचि राख्ने निरजले हात्तीगौडामा पतञ्जलीको पसल चलाउँदै आएका थिए । उनका एक छोरा अमेरिका र छोरी नेपालमै कानुन विषय पढ्दै छिन् ।
जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले पन्तसहित आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषणा गरेको छ । सरकारले पीडित परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ भने रोजगारी र मासिक भत्ताको योजना पनि अघि बढाएको छ ।