२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ठेकेदारको लापरबाहीले ६० वर्षीया वृद्धा घाइते, उपचार खर्च उपलब्ध नगराएको गुनासो 

shivam cement
कृष्ण तिवारी
२०८२ पुष १९ गते १६:५४
Shares
ठेकेदारको लापरबाहीले ६० वर्षीया वृद्धा घाइते, उपचार खर्च उपलब्ध नगराएको गुनासो 

रौतहट : जिल्लाको गढीमाई नगरपालिका–८, वीरनगरा निवासी राजकिशोर पासवानकी आमा अन्दाजी ६० वर्षीया बिफिया देवी पासवान गम्भीर दुर्घटनामा परेकी छिन् । गत  मंसिर  महिनाको १५ गते बजार जाँदै गर्दा बाटोछेउमै काटिएको रुख अचानक खस्दा उनी गम्भीर रूपमा घाइते भएकी हुन् । 

स्थानीय ठेकेदार श्याम नारायण पटेलले कुनै पनि सुरक्षा सावधानी नअपनाई इलेक्ट्रिक ‘साउन्डलेस’ मेसिन प्रयोग गरी रुख काटिरहेको अवस्थामा उक्त दुर्घटना भएको पीडित पक्षको आरोप छ । बाटो प्रयोग गर्ने सर्वसाधारणलाई सचेत गराउने कुनै संकेत, घेराबार वा पूर्व सूचनाबिना गरिएको रुख कटानकै कारण निर्दोष महिला दुर्घटनामा परेको आरोप लगाइएको छ ।

घटनापछि गम्भीर घाइते भएकी बिफिया देवी पासवान हाल जीवन–मृत्युसँग संघर्ष गरिरहेकी छन् । तर, दुर्घटनाका मुख्य जिम्मेवार ठेकेदार पटेलले आफ्नो पावर र पहुँचको दम्भ देखाउँदै उपचारमा कुनै पनि सहयोग नगरेको पीडित परिवारको गुनासो छ । उपचार खर्चको अभावमा पीडित महिला छटपटाइरहेकी र उपचारमा समेत कठिनाइ भइरहेको परिवारजनले बताएका छन् । 

पीडितका छोरा राजकिशोर पासवानले न्यायको माग गर्दै पत्रकार सम्मेलनमार्फत आफ्नो दुःखेसो पोखेका छन् । उनले दोषी ठेकेदारमाथि कानुनी कारबाही गर्न र आमाको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

घटनाप्रति स्थानीयवासीहरू समेत आक्रोशित भएका छन् । लापरबाही र गैरजिम्मेवार कार्यले सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै यस्ता गतिविधिमा तत्काल रोक लगाउन माग गरेका छन् ।

यस घटनाबारे स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारले शीघ्र न्याय र उपचारको सुनिश्चितता गर्न माग गरेका छन् ।

सम्बन्धित खबर