
इटहरी : सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित माया घर नेपालको नवौं साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ । इटहरी–२ स्थित सुकल्प सामुदायिक भवनमा आयोजित सभामा संस्थाका प्रतिनिधि, कर्मचारी, सहयोगी दाताहरू, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्था स्थापना कालदेखि निरन्तर रूपमा खटिँदै आएका कर्मचारी पेमा श्रेष्ठ, माया घरमा आश्रितहरूलाई दैनिक सहयोग गर्दै आएका समाजसेवी अनिल अग्रवाल, भुपाल भट्टराईलगायतलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।
सभामा अध्यक्ष प्याकुरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सडक मानवहरूको उद्धार, संरक्षण, व्यवस्थापन तथा पुनर्स्थापनामा संस्था निरन्तर क्रियाशील रहेको बताइन् । उनले सडक मानवहरूको जन्मदर्ता, नागरिकता र पहिचान सुनिश्चित गर्न स्थानीय तहदेखि नीतिगत तहसम्म सहजीकरणको काम गरिरहेको उल्लेख गरिन् ।
सरकारी निकायबाट हुनुपर्ने सडक मानव उद्धारका कार्यहरू माया घर नेपालले गर्दै आएको भन्दै संस्थालाई अघि बढाउन स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दै काम भइरहेको जानकारी गराइन् ।
संस्थामा हाल १४६ जना असाहाय, असक्त र सडक मानवहरुले आश्रय लिँदै आएको र संस्था स्थापना भएदेखि हालसम्म १० हजार बढीलाई पुनर्स्थापना गराइसकेको अध्यक्ष प्याकुरेलले मध्यान्हलाई बताए ।
त्यसैगरी संस्थाकी कोषाध्यक्ष लक्ष्मी गौतम बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । उनले वर्षभरी भएका आर्थिक गतिविधि र पारदर्शिताबारे जानकारी दिँदै सहरी विकास तथा भवन कार्यालय विराटनगरबाट प्राप्त ५० लाख रुपैयाँबाट भवन निर्माणको ठेक्का लागेको भए पनि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा भौतिक संरचना अधुरो रहेको बताइन् ।
कोषाध्यक्षको प्रतिवेदनअनुसार लायन्स इन्टरनेशनलको परियोजनाअन्तर्गत १ करोड ७२ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भइसकेको छ र हस्तान्तरण मात्र बाँकी रहेको छ । साथै आर्थिक वर्ष २०८०/८१ मा २६ लाख ९१ हजार ६ सय २३ रुपैयाँ रहेको अक्षयकोषमा २०८१/८२ मा १ लाख ५० हजार १ सय ५ रुपैयाँ थप गरिएको जनाइएको छ । ‘एक व्यक्ति, एक इँटा’ अभियानअन्तर्गत २०८१/८२ मा १४ लाख ८९ हजार ५ सय ८० रुपैयाँ संकलन भए पनि आश्रितहरूको दैनिक व्यवस्थापनमै ठूलो खर्च भइरहेको उल्लेख गरिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सपना परियारले माया घर नेपालले सडक मानव उद्धार, व्यवस्थापन र पुनःस्थापनामा गरेको कार्यको खुलेर प्रशंसा गरिन् । उनले कोशी सरकारबाट उचित बजेट विनियोजनका लागि पहल गर्ने र व्यक्तिगत रूपमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
विशिष्ट अतिथि इटहरी जेसीजका नव–निर्वाचित अध्यक्ष मिसन पराजुलीले माया घरले नामअनुसारको कार्य गर्दै समाजका लागि उदाहरण प्रस्तुत गरेको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत इटहरी जेसीजले माया घरसँग सहकार्य गर्दै खाद्यान्न तथा आवश्यक लत्ताकपडा वितरण गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
त्यस्तै, इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइरालाले माया घर अशक्त, असहाय तथा परिवारविहीन व्यक्तिहरूका लागि माया पाउने थलो बनेको बताए । सरकारी निकायबाट हुनुपर्ने उद्धार कार्य माया घरले चुनौतीका बाबजुद अगाडि बढाइरहेकोमा गर्व लागेको उल्लेख गर्दै, स्थानीय सरकारले अपेक्षित सहयोग गर्न नसकेको स्वीकार गरे पनि व्यक्तिगत रूपमा सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमाल, आस्था फाउन्डेसनका सञ्चालक चन्द्र बराल, वरिष्ठ पत्रकार कृष्णप्रसाद अधिकारी, महिला सञ्जाल इटहरीकी पूर्व अध्यक्ष बिमला ढकाल, दाहाल प्रतिष्ठानका उपाध्यक्ष सुरेश दाहाल, सुवेदी कल्याण प्रतिष्ठानका अध्यक्ष छविनाथ सुवेदी, आयुर्वेदिक टोल विकास संस्थाका अध्यक्ष रमेश दाहाललगायतले संस्थाको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगतिको कामना व्यक्त गरेका थिए ।