
अर्घाखाँची : ‘शिक्षा कुनै निश्चित पाठ्यक्रम वा कक्षाकोठाभित्र सीमित विषय होइन, यो समाज रूपान्तरणको मेरुदण्ड हो’ नारा आत्मसात् गर्दै शितगंगा नगरपालिकाले नवप्रवेशी शिक्षकहरूका लागि शिक्षक मेन्टरसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शितगंगा नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय तहमा शिक्षाको गुणस्तर सुधारतर्फ नयाँ दिशानिर्देश गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।
नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्षहरू विद्यालयका प्रध्यानाध्यापक, शिक्षकहरूको उपस्थितिमा भएको कार्यक्रममा शिक्षा सहायक राजकुमार रेश्मीको सञ्चालन र शिक्षा शाखा प्रमुख विनोद पोखरेलको सहजीकरणमा सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षकको पेशागत विकासलाई केन्द्रमा राख्दै शिक्षक मेन्टरिङ प्रणालीको अवधारणा, उद्देश्य कार्यविधिबारे विस्तृत छलफल भएको प्रशासकीय अधिकृत नुमलाल खनालले बताए । शिक्षा शाखा प्रमुख पोख्रेलले शिक्षक मेन्टरिङलाई केवल तालिम नभई विद्यालयमा आधारित निरन्तर सिकाइको प्रक्रिया भएको बताए । तालिमले नवप्रवेशी शिक्षकलाई अनुभवी तथा दक्ष मेन्टरको मार्गदर्शनमा कक्षाकोठा व्यवस्थापन, पाठयोजना निर्माण, सिकाइ मूल्यांकन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा शिक्षण–सिकाइ प्रक्रियामा दक्ष बनाउने लक्ष्य लिएको नगरप्रमुख छबिलाल पौडेलको भनाइ छ ।
कार्यक्रममा शिक्षकको पेशागत विकासका शैक्षिक विधिहरू, सेवा प्रवेश तालिम, प्रमाणिकरण तालिम, कस्टमाइज्ड तालिम, पाठ अध्ययन, स्व–निर्देशित सिकाइ, कार्यमूलक अनुसन्धान, सिकाइ सञ्जाल तथा सहपाठी कक्षा अवलोकनबारे प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रशिक्षण दिएका थिए ।
मेन्टरिङ प्रक्रिया कम्तीमा ६ महिनासम्म सञ्चालन हुने र यस अवधिमा ३५ घण्टाभन्दा बढी प्रत्यक्ष सहयोग प्रदान गरिने सापकोटाले बताए । यसले शिक्षकमा आत्मविश्वास, व्यावसायिक दक्षता र व्यवहारिक ज्ञानको विकास गर्ने अपेक्षा गरिएको नगर उपप्रमुख भाटले बताइन् ।
कार्यक्रममा मेन्टर, नवप्रवेशी शिक्षक र प्रधानाध्यापकको भूमिकालाई स्पष्ट गर्दै सहकार्य, विश्वास र निरन्तरतामा आधारित शिक्षण संस्कृतिको विकासमा जोड दिइएको थियोे । मेन्टरले निरीक्षकको भूमिका होइन, सहयात्रीको भूमिका निर्वाह गर्नुपर्ने, नवप्रवेशी शिक्षकले सक्रिय सहभागिता जनाउँदै सिकाइलाई व्यवहारमा उतार्नुपर्ने तथा प्रधानाध्यापकले विद्यालयभित्र अनुकूल वातावरण निर्माण गर्नुपर्ने अन्तर क्रियामा बोल्ने बक्ताले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले शिक्षाको गुणस्तर नै सामाजिक रूपान्तरणको आधार भएको बताए । उनले नवप्रवेशी शिक्षकहरूलाई भावी पुस्ताका निर्माणकर्ता भन्दै उनीहरूको क्षमता विकासमा लगानी गर्नु दीर्घकालीन सामाजिक लगानी भएको स्पष्ट पारेका थिए । स्थानीय सरकारले शिक्षक विकासलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको उनले जिकिर गरे ।
उपप्रमुख गीता भाटले यस्ता अभिमुखीकरण कार्यक्रमले शिक्षणलाई व्यवहारिक, जीवन्त र परिणाममुखी बनाउने उल्लेख गर्दै शिक्षकहरूको निरन्तर सिकाइ नै शैक्षिक सुधारको मेरुदण्ड भएको बताए ।
कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा शिक्षकहरूले यस किसिमको व्यावहारिक सिकाइले विद्यालयमा सहकार्य, आत्मविश्वास र सिकाइ संस्कृतिको विकास गर्ने प्रतिक्रिया दिएका थिए । उनीहरूको भनाइमा शिक्षक मेन्टरिङ प्रणालीले विद्यालयलाई ज्ञानको केन्द्रका रूपमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
समग्रमा, शितगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखा, ठाडा, अर्घाखाँचीद्वारा आयोजित यो कार्यक्रम स्थानीय तहमा गुणस्तरीय शिक्षा प्रवद्र्धन, शिक्षकको पेशागत सशक्तीकरण र दीगो सिकाइ संस्कृतिको विकासतर्फ एक महत्वपूर्ण कदमका रूपमा स्थापित भएको छ । यसले शिक्षा क्षेत्रलाई केवल सेवा नभई सामाजिक रूपान्तरणको आधारका रूपमा अघि बढाउने विश्वास दिलाएको छ ।