
मधेस प्रदेशका केही जिल्लाहरू अहिले तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । धर्म र संस्कृतिलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएको एउटा अभद्र टिप्पणीले धनुषा, पर्सालगायतका क्षेत्रमा प्रदर्शन र अशान्ति निम्त्याएको छ । वीरगन्जमा कफ्र्यु लगाउनुपरेको छ भने मधेसका आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एउटा व्यक्तिको गैरजिम्मेवार अभिव्यक्तिले सिंगो समाजलाई असहज बनाइदिएको छ । प्रहरीका अनुसार, टिकटकमा पोस्ट गरिएको उक्त भिडियोपछि फैलिएको अफवाहमा स्वार्थ समूह मिसिँदा तनावको स्थिति उत्पन्न भएको हो । अराजक समूहहरूले घटनालाई गलत रूपमा व्याख्या गरे । परिणामस्वरूप धार्मिकस्थलमा आक्रमणसम्मको अवस्था आयो । यस्ता घटनाले सामाजिक सञ्जाल आज सूचनाको सहज माध्यम मात्र होइन, द्वेष र उत्तेजनाको माध्यम पनि बन्न सक्छ भन्ने देखाएको छ । सत्य पुष्टि नगरेरै फैलाइने सूचना समाजका लागि कति खतरनाक हुन सक्छ ? भन्ने उदाहरण पनि पर्साको घटना बन्न पुगेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो । यही विविधता हाम्रो पहिचान र शक्ति हो । तर पछिल्लो समय यही विविधतालाई कमजोर बनाउने प्रयास बढ्दै गएका छन् । विगतमा पनि मधेसका केही जिल्लामा धार्मिक विषयलाई लिएर विवाद र दंगा भएका छन् । प्रायः यस्ता घटना अफवाह र उत्तेजक अभिव्यक्तिबाटै चर्किएका छन् ।
पछिल्लो घटनामा सरकारले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले घृणाजन्य अभिव्यक्ति र हिंसात्मक गतिविधिलाई दण्डनीय अपराधका रूपमा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । यो स्वागतयोग्य कदम हो । तर कानुनी कारबाहीसँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक छ । कानुनले अपराध रोक्न सक्छ तर आपसी सद्भाव, एकता र भाइचारा बढाउन सक्दैन । त्यसका लागि समुदाय नै जागरुक हुनुपर्छ । संयम, सहिष्णुता र आपसी संवादमा जोड दिनु आजको आवश्यकता हो । यस्तो संवेदनशील अवस्थामा धार्मिक अगुवा, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यम सबैले जिम्मेवार भूमिका खेल्नुपर्छ । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार हो तर सामाजिक सञ्जालको दुरुपयोग गर्दै यसलाई घृणा फैलाउने माध्यम बन्न कदापि दिनुहुँदैन । त्यसका लागि पनि सर्वसाधारण तहमै अफवाहलाई अस्वीकार गर्ने संस्कारको विकास गर्न जरुरी छ । हामीले सामाजिक सञ्जालमा राखेका सामाग्री र व्यक्त विचारले समाजलाई नै हानि पुर्याउनुहुँदैन । मधेशको अहिलेको अशान्ति केही जिल्लाको मात्र विषय होइन । यो सिंगो देशको सामाजिक एकताको प्रश्न हो । अतः उक्साहट होइन, संयम रोज्नु नै अहिलेको सही बाटो हो ।