२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मिसिल पुन:प्राप्तिपछि तंग्रिँदै अदालत

shivam cement
सपना बोहरा
२०८२ पुष २२ गते ०६:२०
Shares
मिसिल पुन:प्राप्तिपछि तंग्रिँदै अदालत

काठमाडौं : जेनजी आन्दोलनसँगैको विध्वंसमा जलेर भग्नावशेष बनेको सर्वोच्च अदालतमा चहल पहल बढ्न थालेको छ । मुद्दा दर्ता गर्ने, तारेख बुझ्ने, बहसपैरवी र फैसलाजस्ता न्यायिक गतिविधि पुरानै लयमा फर्किन थालेका छन् ।  सर्वोच्चसहित अन्य अदालतमा पनि मिसिल पुनः प्राप्त गर्दै बहस तथा फैसला हुन थालेका छन् । 

जेनजी आन्दोलनका क्रममा युवाहरूको ज्यान गएपछि गत भदौ २४ गते अनियन्त्रित समूहले न्यायालयमाथि आक्रमण गरेको थियो । त्यसक्रममा सर्वोच्चसहित उच्च र जिल्ला अदालतहरू पूर्णरूपमा ध्वस्त पारिएका थिए । तीमध्ये केही मर्मत र पुनः निर्माण गरिएको छ भने जलेर नष्ट मिसिल प्राप्ति प्रक्रिया अघि बढाइएको छ  । सर्वोच्च अदालतमा जलेर नष्टमा भएका २० हजार ३४ थान मुद्दामध्ये १० हजार १ सय २० थान मिसिल पुनः प्राप्त भएका छन् । पुस १७ गतेसम्म ९ हजार ५ सय ९० जना सेवाग्राहीले तारिख लिइसकेका छन् । अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार पुस १७ गतेसम्म ९ हजार ७५ जनाले मिसिलका कागजात बुझाएका छन् । सरकारवादी मुद्दाका जलेका मिसिल महान्यायाधिवक्ता कार्यालयमार्फत पनि बुझिँदै छ । महान्यायाधिवक्ताको कार्यालयबाट १ हजार ४५ वटा मिसिल प्राप्त भएको पाण्डेले बताए । 

अदालतले मंसिर र पुस महिनाभित्र उपस्थित भएर मुद्दाका मिसिल उपलब्ध गराउन सम्बन्धित पक्षसँग अनुरोधसमेत गरेको थियो । अदालतमा मुद्दाका मिसिलहरू दुवै पक्षले पेस गर्नेक्रम जारी छ । अदालतमा प्राप्त भएका मुद्दा प्रमाणीकरण हुँदै बहस तथा फैसलाका काम भइरहेको उनले बताए । ‘अदालत पुरानै गतिमा फर्किएको छ,’ उनले भने, ‘प्राप्त भएका दुवै पक्षका मिसिल प्रमाणीकरण गरी कानुनबमोजिम कारबाही र सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ ।’ 

प्राप्त मिसिललाई सर्वोच्चले मुद्दा हेर्ने रजिस्टार, मुद्दा महाशाखा प्रमुख र फाँटका सम्बन्धित सुपरिवेक्षणपछि प्रमाणीकरण गर्ने गरिएको छ । ‘प्रमाणिकरणसमेत भइसकेको र केही मुद्दा सुनुवाइका लागि पेसीसमेत तोकिसकेको छ,’ उनले भने, ‘महान्यायाधिवक्ता कार्यालय, मुद्दाका पक्ष र विपक्षीहरूले मिसिल बुझाउने कार्य भइरहेको छ ।’

जेनजी प्रर्दशन क्रममा देशभरका २३ अदालतमा आगजनी र क्षति पुगेको थियो । ती अदालतमा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिल जलेर नष्ट भएको अदालतले जनाएको छ । अदालतका अनुसार, आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको छ । 

सर्वोच्चमा चालु अवस्थामा रहेका २४ हजार २ सय ३४ थानमध्ये २० हजार ३४ मुद्दाको मिसिल जलेका छन् । गत भदौ २४ मा सर्वोच्च अदालतमा भएको आगजनीका कारण जलेको ८ हजार आगजनीमा परेका चालु मुद्दामध्ये ४ हजार २ सय मिसिल सुरक्षित रहेको सर्वोच्च अदालतले जनाएको छ । 

सर्वोच्चले कार्यविधि बनाएर मंसिर १ गतेदेखि सरोकारवालासँग मिसिल माग गरेको थियो । पक्षहरूलाई पुस मसान्तसम्मको समय दिइएको छ । जसअनुसार, हालसम्म ७ सय २५ थान मिसिल उक्त कार्यालयले बुझाएको छ । सहायक प्रवक्ता पाण्डेले जलेका मिसिल बुझाउन सर्वोच्चले पुस महिनाभरको समय दिएको जानकारी दिए । पेसीमा चढेका मुद्दामा पनि मिसिल जलेको हकमा मिसिल प्राप्तिको आदेश भइरहेको छ । हालसम्म प्राप्त भएका मिसिलमध्ये एक सय थान मुद्दामा पेसी चढेर सुनुवाइ भइसकेको अदालतले जनाएको छ । सर्वोच्चले ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिका, २०८२’ सार्वजनिक गरेको थियो । सोहीअनुसार अदालतले आफ्नो काम कारबाही अगाडि बढाएको छ । 

सम्बन्धित खबर