
काठमाडौं । प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद)को अध्यक्षमा नेपाल सरकारका सह–न्यायाधिवक्ता कोषहरि निरौला निर्वाचित भएका छन् । यही पुस १९ गते काठमाडौंमा सम्पन्न संस्थाको २३औं साधारण सभाले निरौलालाई अध्यक्षमा चयन गरेको हो ।
साधारण सभाबाट उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला चयन भएका छन् । यस्तै, संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल, सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे तथा कोषाध्यक्षमा राजेन्द्र राज ओझा चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा दिवस आचार्य, विन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुवोधकुमार शाह, निर्माणकुमार कार्की, मोहनबहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन भएका छन् ।
२०५४ सालमा स्थापना भएको कामादमा उच्च पदस्थ निजामती कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ । संस्थाले सार्वजनिक प्रशासनको क्षेत्रमा प्राज्ञिक तथा अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्नुका साथै सेवामा रहेका अधिकृतहरूको क्षमता अभिवृद्धि सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कामादले नियमित रूपमा प्रकाशन गर्दै आएको ‘कामाद जर्नल’ सार्वजनिक प्रशासनको क्षेत्रमा उत्कृष्ट रोजाइमा पर्ने प्रकाशनका रूपमा स्थापित हुँदै आएको छ ।