२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ब्रिटिस स्कुलको सञ्चालक समितिमा विदेशी नागरिक

shivam cement
२०८२ पुष २२ गते २२:२०
Shares
ब्रिटिस स्कुलको सञ्चालक समितिमा विदेशी नागरिक

ललितपुर : पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशी नागरिक ललितपुरको जावलाखेलमा रहेको ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिमा रहेको विषयमा अध्यागमन विभागले छानबिन गरेको पाइएको छ । अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टिकाराम ढकालले दिएको जानकारी अनुसार पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशी ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिमा रहेको तथ्यसहित विभागमा उजुरी परेपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छानबिन विभागले छानबिन गरिरहेको छ ।

‘नेपालको कानुनलाई चुनौती दिँदै विदेशी नागरिकहरूले भिसाको उद्देश्य विपरीत काम गरिरहेको भन्ने उजुरी प्राप्त भएको थियोे, उजुरी प्राप्त भएपछि हामीले शिक्षा मन्त्रालयसंग पनि जानकारी लिइरहेका छौं, यो विषयमा अहिले नै टुंगोमा पुग्न सकेका छैनौं’, प्रवक्ता ढकालले भने । पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशीहरूले विद्यालयको सञ्चालक समितिमा रहेर प्रशासनिक र नीतिगत हस्तक्षेप गरिरहेको भन्दै अध्यागमन विभागमा गत कात्तिक २० गते विभागमा उजुरी दर्ता भएको उनले जानकारी दिए । 

विभागमा दर्ता भएको उजुरीमा नेपालको अध्यागमन कानुनको बर्खिलाप गर्दै विद्यालयको प्रशासनिक गतिविधि र निर्णय प्रक्रियामा विदेशी हाबी दाबी गरिएको छ । ‘यस विषयमा गुनासो र लिखित उजुरी प्राप्त भएको छ । हामीले यसलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएका छौं । अनुसन्धान प्रतिवेदन आएपछि कानुन बमोजिम आवश्यक प्रक्रिया र कारबाही अघि बढाइनेछ’, प्रवक्ता ढकालले भने । 

उजुरीमा उल्लेख भएअनुसार नेदरल्याण्डका विल्को नानो ब्राम, बेलायतकी क्यारन आर्लिन बसु रे र अमेरिकाका सन्तोष श्रेष्ठमाथि गैरकानुनी रूपमा काम गरेको आरोप छ । यी तीनै जना विदेशी नागरिक पर्यटक वा परिवारजनको भिसामा नेपाल बसेर विद्यालयको सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स)मा रहेर विद्यालयको नीति निर्माण गर्ने र प्रशासनिक निर्णयहरूमा प्रत्यक्ष संलग्न भइरहेको उजुरीमा उल्लेख छ ।

नेपालको अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ को नियम २० ले पर्यटक वा नाता सम्बन्धका आधारमा (डिपेन्डेन्ट) भिसा लिएका विदेशीलाई नेपालमा कुनै पनि प्रकारको उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न स्पष्ट बन्देज लगाएको छ । काम गर्नका लागि श्रम स्वीकृति र सोही अनुसारको भिसा अनिवार्य हुन्छ । तर, ब्रिटिस स्कुलमा संलग्न यी विदेशीहरूले ‘आवास मात्र रहने’ अनुमति लिएर विद्यालय सञ्चालनमा सक्रिय भूमिका खेलिरहेको पाइएको उजुरी भनिएको छ । उनीहरूले नियमावलीको नियम १९ अनुसार ६ महिनाभन्दा बढी बस्दा गर्नुपर्ने ठेगाना दर्ता, परिवर्तनको सूचना र एक सय २० दिनभन्दा बढी बस्दा स्थानीय प्रहरीमा उपस्थित हुनुपर्ने कानुनी प्रावधानसमेत पालना नगरेको आशंका रहेको उजुरीमा उल्लेख गरिएको छ ।

यस प्रकरणलाई सामान्य भिसा दुरुपयोगका रूपमा मात्र नभई राज्यको कानुनी व्यवस्था र स्वाधीनतामाथिको चुनौतीका रूपमा हेरिएको छ । उजुरीकर्ताले दाबी गरेअनुसार, विदेशी नागरिकले नेपालको आन्तरिक संस्थागत निर्णय प्रक्रियामा प्रमुख वा हस्तक्षेपकारी भूमिकामा रहनु राष्ट्रिय स्वाभिमान र श्रम सम्बन्धी कानुनको उल्लंघन हो । यस्तो प्रवृत्तिले राष्ट्रिय निर्णय प्रक्रियामा नेपाली नागरिकको भूमिका कमजोर पार्ने र विदेशी हस्तक्षेप बढाउने जोखिम निम्त्याएको दाबी गरिएको छ । उजुरीमा कानुन मिच्ने विदेशी नागरिकमाथि तत्काल छानबिन गर्न, भिसा दुरुपयोगको अभियोगमा कारबाही गर्न र यस्ता गतिविधि दोहोरिन नदिन निगरानी बढाउन माग गरिएको छ ।

सम्बन्धित खबर