तिलु शर्मा पौडेल/मध्यान्ह
कतार, २० चैत । मधेश प्रदेश समन्वय परिषद कतारले रमदान तथा नयाँ वर्ष २०७९ को अवसरमा भेटघाट तथा शुभकामना अदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सनैयास्थित एसियन टाउनको ग्रेट एसियन रेस्टुरेन्टको सभाहलमा शुक्रबार आयोजित कार्यक्रम परिषद कतारका कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवानको सभापतित्व तथा एन आर एनए कतारका सचिव रविन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सामाजिक अभियन्ता मनिष यादव, प्रवासी नेपाली मञ्च कतारका चानक पोखरेल, जनसम्पर्क समिति कतारका सहमहामन्त्री भुवन साउद, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, नेपाली महिला समाज कतारकी अन्जिला देवकोटा र जनप्रगतिशील मञ्च कतारका राजेन्द्र देवकोटा विशिष्ट अतिथिको रुपमा रहेका थिए ।
सो अवसरमा परिषद कतारका महासचिव शिव कुमार महतो, सल्लाहकारहरु कार्यसमितिका पदाधिकारीहरु, कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । सोहि क्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै सामाजिक अभियानता मनिष यादवले मधेश प्रदेश समन्वय परिषद कतार कुनै जातजाती धर्म राजनीतिक संस्था नभएको भन्दै यो एउटा सार्वजनिक मधेसीको संस्था भएको बताए ।
उनले प्रवासमा रहेर पनि मधेश र मधेशी जस्तो नाम जोडेर स्थापना गरेकोमा परिषदका सम्पूर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गरे । साथै ईस्लाम धर्मावलम्बीहरुको पावन महिना रमदान तथा नेपालीहरुको नयाँ वर्ष २०७९ को अवसरमा उनले सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अलि हुसेन राईनले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । संस्थाको एक वर्षको कार्य प्रगति प्रतिवेदन सल्लाहकार जियाबाबु खानले प्रस्तुत गरेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कलाकार दिलिप मण्डलले मातृभुमी राष्ट्रप्रति समर्पित गीत ‘विन्ती छै सब नेपाली भैया आउर भाईके किया कनबै छह तु सब नेपाल माईके’ बोलको गीतमा प्रस्तुति दिएका थिए ।
नेपाली राष्ट्रिय गानपछि कतारी राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा शहीदहरुको सम्झनामा दीप प्रज्वलन तथा एक मिनेट मौन धारणा गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
सभापति एवं परिषद कतारका कार्यवाहक अध्यक्ष पासवानले मन्तव्य राख्दै निमन्त्रणालाई स्वीकार गरि आएका सम्पूर्ण अतिथिहरुमा धन्यवादसहित नयाँ वर्ष र रमदानको शुभकामना व्यक्त गरेका थिए । जयप्रकाश यादवले सहजीकरण गरेको कार्यक्रमको संचालन शिवकुमार महतोले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies