२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

इजरायलबाट आयो १ सय ४२ जना नेपाली कामदारको भिसा

shivam cement
२०८२ पुष २५ गते ०६:१५
Shares
इजरायलबाट आयो १ सय ४२ जना नेपाली कामदारको भिसा

काठमाडौं : इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि पछिल्लोपटक १ सय ४२ जना नेपाली सहायक कामदारको भिसा आएको छ । सरकारी तह (जिटुजी) का माध्यमबाट जाने उक्त रोजगारीमा यसअघि अत्यन्तै सानो संख्यामा भिसा आइरहेको अवस्थामा १ सय ४२ जनाको भिसा आउनुलाई ठुलै संख्या मानिएको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि हाल ठुलो संख्यामा सहायक कामदारहरूको माग रहेको छ । तर सानो संख्यामा मात्रै नेपाली जान पाएका छन् ।

लगभग ७० हजार आप्रवासी सहायक कामदार रहेकोे इजरायलमा नेपालसहित भारत, श्रीलंका, फिलिपिन्स जस्ता एसियाली मुलुक र पूर्वी युरोपबाट जाने गरेका छन् । लगभग एकतिहाइ कामदार फिलिपिन्सबाट गएका छन् ।

इजरायलमा पछिल्ला दिनमा भारतबाट जाने क्रम उल्लेख्य बढेको छ । नेपालको छिमेकी भारतबाट उल्लेख्य मात्रामा हेरचाहकर्ता कामदार इजरायल जाँदा नेपाल भने सरकारी तहबाट मात्रै सानो संख्यामा पठाएर सन्तुष्टि लिएर रमाएको देखिन्छ ।

नेपाली भाषा बाहुल्यता रहेका भारतका सिक्किम, दार्जिलिङ, आसमबाहेक दक्षिणी राज्य केरलाबाट ठुलो संख्यामा भारतीयहरू इजरायलमा सहायक हेरचाहकर्ताको रोजगारीमा छन् । इजरायलमा रहेको भारतीय दूतावासका अनुसार हाल इजरायलमा लगभग १८ हजार भारतीय नागरिक केयरगिभरमा कार्यरत छन् । नेपालीको संख्या भने ४ हजार ५ सयको हाराहारीमा रहेकोे त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ ।

नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ । गत वर्ष प्यालेस्टिनी आतंकवादी समूह हमासले आक्रमण गरेपछि इजरायलमा केयरगिभरको माग तीव्र रूपमा बढेको हो । तर प्रक्रियामा ढिलाइ हुँदा नेपाली कामदारहरू योग्य हुँदाहुँदै पनि आकर्षक मानिएको उक्त रोजगारीको पहुँचमा पुग्न नसकेको विज्ञहरू बताउँछन् ।

सरकारले ठगी बढ्ने भन्दै  निजी क्षेत्रलाई कामदार पठाउने अनुमति दिएको छैन । तर भारत, श्रीलंका, थाइल्यान्ड र युएईको घुमाउरो बाटो प्रयोग गरेर भिजिट भिसामा इजरायल पुगेका केही नेपालीहरूले वैधानिक रूपमा त्यहाँको कृषि क्षेत्रमा काम गरिरहेको इजरायल पुगेर फर्केकाहरू बताउँछन् ।

इजरायलमा कृषि र केयरगिभरको प्रशस्त अवसर भएका कारण नेपाल सरकारले सरकारी तहबाट मात्रै पठाउने नीति परिवर्तन गरेर कडा मापदण्ड तोकेर निजी क्षेत्रलाई कृषि र केयरगिभरको रोजगारीमा कामदार पठाउने अनुमति दिए सधैंभरि खाडी मुलुक र मलेसिया वा बिचौलियालाई ठुलो रकम दिएर अवैधानिक रूपमा पूर्वी युरोप छिर्ने बाध्यता कम हुने कतिपयको भनाइ छ ।

इजरायलको नियमानुसार हप्ताको ६ दिन ४२ घण्टा र अतिरिक्त समय काम गर्दा थप पारिश्रमिक पाउने अवसर समेत रहेको छ । नेपाली कामदारले मासिक तलब नेपाली झन्डै दुई लाख रुपैयाँभन्दा केही बढी हुने गरेको छ ।

सम्बन्धित खबर