२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

जेनजीले चाहेकै मोडालिटीमा काठमाडौं प्रशासन

shivam cement
सपना बोहरा
२०८२ पुष २५ गते ०६:३०
Shares
जेनजीले चाहेकै मोडालिटीमा काठमाडौं प्रशासन

काठमाडौं : के तपाईं जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीको फर्म भरिदिने वा कर्मचारीसँग सम्पर्क बढाएर सहज रूपमा काम गरिदिने बाहनामा बार्गेनिङ गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने आजैदेखि त्यस्ता बिचौलिया काम छोड्नुहोस् । 

जिल्ला प्रशासन कार्यालयले अपारदर्शी र बिचौलिया संलग्न यस्ता काममाथि निगरानी गर्न पिएस प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) लागू गरेको छ । यदि प्रशासनमा कुनै बिचौलिया देखिए वा कुनै लेनदेनबारेमा छलफल भइरहेको शंका लागे पिएस प्रणालीमा हेरेर सिधै कारबाही गर्न सकिनेछ । सेवाग्राही नागरिकलाई छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले पास प्रणाली एवं क्युआरसहितको टोकन प्रणालीको जडान गरिएको प्रजिअ ईश्वरराज पौडेलले जानकारी दिए । 

उनले बिहीबार पत्रकार सम्मेलन गरेरै जडान गरिएका प्रणालीले सेवाप्रवाहको ढाँचामै परिवर्तन देखिन थालेको बताएका छन् । ‘यस प्रणालीअन्तर्गत एउटै कोठाबाट सबै कक्षको निगरानी गर्न सकिने व्यवस्था गरिएको छ,’ पौडेलले भने, ‘सोही स्थानबाट कर्मचारीलाई निर्देशन दिन पनि सकिन्छ । त्यसबाहेक अन्य शंकास्पद गतिविधि भएको पाइएमा अन द स्र्पोट कारबाही पनि हुन्छ ।’  जेनजी पुस्ताले खोजेको, रोजेको र चाहेको सेवा मोडेलसँग मेल खानेगरी सेवा प्रदान हुने उनले बताए । ‘जेनजीहरूको सुशासन, पारदर्शिता र छिटो छरितो सेवा हुनुपर्ने माग थियो । सोही मागअनुसारको मोडालिटीमा कार्यालयमा काम भइरहेको छ’, पौडेलले भने । 

यो प्रणालीका लागि कार्यालय परिसरका विभिन्न स्थानमा उच्च गुणस्तरका ७० वटा साउन्डसहितका सिसी क्यामेरा जडान गरिएको छ ।  ‘आजका नागरिक प्रविधिसँग अभ्यस्त छन् । उनीहरू छिटोछरितो, पारदर्शी र झन्झटरहित सेवा चाहन्छन्,’ उनले भने, ‘त्यही मागलाई सम्बोधन गर्न पिएस प्रणाली ल्याइएको हो । विगतमा आगजनीजस्तो पीडादायक अवस्थाबाट गुज्रिएको प्रशासनले अहिले नयाँ भवनबाटै प्रविधिमैत्री सेवाको सुरुवात गरेको छ  ।

त्यति मात्रै होइन, कार्यालयमा एउटा नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका फर्म भर्न दिनभर लाग्ने वाध्यता पनि हटेको छ । कार्यालयमा छिरेको बढीमा ३० मिनेटभित्रमा सेवाग्राहीको काम सम्पन्न हुने उनको दाबी छ । सेवा लिन आउने सेवाग्राहीले कार्यालय प्रवेश गरेपछि सबैभन्दा पहिले आफ्नो कागजात प्रारम्भिक रुजु गराउँछन् । त्यसपछि आफूले लिन चाहेको सेवाका आधारमा क्युआर कोडसहितको टोकन प्राप्त गर्छन् । सोही टोकनका आधारमा सम्बन्धित शाखाबाट पालोअनुसार सेवा प्रदान गरिन्छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासनको पास एवं क्युआरसहितको टोकन प्रणालीको गत शुक्रबार उद्घाटन गर्ने क्रममा पनि जेनजी पुस्ताले चाहेको जस्तो सेवा सुविधा भएको बताएका थिए । जेनजी पुस्तालाई मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढंगले प्रस्तुत हुन पनि उनले सुझाव दिएका थिए । ‘जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरताले नेपालमा यो परिवर्तन जुन भएको छ । यसलाई हामीले हाम्रो सही आचरणबाट संस्थागत गर्न सक्यौं र व्यवहारमा देखाउन सक्यौं भने नेपाल वास्तवमै जेनजी आन्दोलनको गुरुराष्ट्र बन्न सक्छ,’ उनले भने ।

सम्बन्धित खबर