
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् ।
शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरूको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे ।
उनले संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए ।
मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सो विभागले चाहेजति काम गर्नसक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताए । उनले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गरे ।