
चितवन : चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ । शुक्रबार दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो ।
छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ । यस आर्थिक वर्षमा यीबाहेक ५२ वटा गोही नदीमा छाडिसकिएको छ ।
मगरका अनुसार सन् २०२२ मा जन्मिएका ३०० वटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा छन् । यस आर्थिक वर्षमा ती गोहीलाई नदीमा छाड्ने योजना रहेको उनले बताए । उनले भने, ‘अहिले गोही प्रजनन केन्द्रमा ६ सय ९७ वटा गोही छन् ।’
अहिलेसम्म हुर्काइएका २ हजार १ सय ४२ वटा गोही नदीमा छाडिएको उनले जानकारी दिए । विसं. २०३५ मा स्थापना गरिएको घडीयाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ । –रासस