
रौतहट : मुलुकको राजनीतिक प्रक्रियामा सीमान्तकृत महिलाको प्रभावकारी र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले रौतहटको चन्द्रपुरमा ‘सामुदायिक संवाद’ कार्यक्रम सम्पन्न भएको छ । एक्सेस नेपालको आयोजना तथा युएन वुमनको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रमले स्थानीय तहमा महिला नेतृत्व, राजनीतिक पहुँच र निर्णय प्रक्रियामा उनीहरूको भूमिकाबारे गहिरो बहस गरेको छ ।
संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विशेषगरी आर्थिक र सामाजिक रूपमा पछि पारिएका महिलालाई नीति निर्माणको केन्द्रमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल गरिएको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै एक्सेस नेपालकी कार्यकारी निर्देशक लक्ष्मी नेपालले संविधानले महिलाको राजनीतिक सहभागिताको सुनिश्चितता गरे पनि व्यवहारिक कार्यान्वयनमा अझै थुप्रै चुनौती रहेको उल्लेख गरिन् । उनले सीमान्तकृत महिलाको सहभागिता केवल संख्यामा सीमित नभई निर्णय प्रक्रियामा वास्तविक प्रभाव पार्ने खालको हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘महिलाहरू नीति निर्माणमा अर्थपूर्ण रूपमा सहभागी भए मात्र समावेशी लोकतन्त्र सम्भव हुन्छ ।’
त्यसैगरी, एक्सेस नेपालकी मधेश प्रदेश संयोजक कल्पना साहले मधेशको सामाजिक संरचनाले महिलाको राजनीतिक यात्रामा सिर्जना गरेका अवरोधहरूबारे चर्चा गरिन् । समुदायस्तरमा हुने यस्ता संवाद कार्यक्रमले महिलामा आत्मविश्वास बढाउने र राजनीतिक दललाई अझ समावेशी बन्न दबाब सिर्जना गर्ने विश्वास उनले व्यक्त गरिन् ।
संवादमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना पार्टी संरचनाभित्र महिलाको भूमिकालाई बलियो बनाउने तथा उम्मेदवार छनोटका क्रममा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, सञ्चारकर्मीहरूले महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउने र महिला नेतृत्व विकासमा सहकार्य गर्ने धारणा राखेका थिए ।
सीमान्तकृत महिलाको अर्थपूर्ण राजनीतिक सहभागिता र नेतृत्व विकासलाई केन्द्रमा राखिएको यस सामुदायिक संवादले रौतहट जिल्लामा महिला अधिकार र राजनीतिक चेतनाको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन् ।