२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

shivam cement
२०८२ पुष २६ गते १०:३२
Shares
कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

धुलिखेलः काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी विरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान गरेको हो ।

गाउँपालिकाभित्रमा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका किसानहरूलाई दक्ष बनाउने उद्देश्यले प्रविधिसम्बन्धी तालिमको आयोजना गरेको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए । पालिकाका सबै वडाहरूबाट ४५ जना किसानलाई छनोट गरेर तालिम दिएको हो । सो क्रममा कफीको बिरुवा रोप्ने तरिकादेखि बिरुवा रेखदेख, फल टिप्ने विधि, सुकाउने र बजारीकरणलगायतका विषयमा प्रशिक्षण दिएको पालिकाले जनाएको छ ।

वडा नं ५ का वडाध्यक्ष विजय राना मगरले कफीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएपछि किसानहरूको आर्थिक उपार्जनसँगै दैनिकीमा समेत परिवर्तन हुँदै गएको बताए । वडाध्यक्ष मगरले धान, मकै र कोदोखेतीबाट माथि उठेर अझै कफीलाई व्यावसायिक रूपमा खेती गरेको खण्डमा जीवनस्तर उठ्न सकिने भएकाले अहिले प्रदान गरेको प्रविधिसम्बन्धी तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले भौतिक पूर्वाधारको विकाससँगै आधारभूत वर्गको जीवनस्तर उकास्ने ध्येय राखेर कफीखेती प्रविधि तालिम प्रदान गरेको बताए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कृषिबाट यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि माटो परीक्षण गर्ने अभियान चलाउँदा सबैले के हुन्छ भनेर प्रश्न गरेको स्मरण गरे । उनले अहिले आएर कफीखेतीलाई व्यवसायीकरण गर्न थालेपछि त्यसको उत्तर कामबाट दिन सफल भएको बताए ।

‘यही कमाउने, यही रमाउने’ अभियानका साथ विगत पाँच वर्षबाट निरन्तर रूपमा काम गर्दै आएपछि अहिले सबैजसो किसान कफीतर्फ आकर्षित हुन थालेको उनले बताए । त्यसको लागि सक्दो मेहनत गर्न आग्रह गर्दै आवश्यक सहयोगको लागि गाउँपालिका तयार रहेको र आगामी दिनमा महाभारतलाई कफीमार्फत पर्यटकलाई आकर्षित गर्दै कफीको हबको रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष जिम्बाले बताए । 

तालिममा केन्द्रीय कफी सहकारी सङ्घका अध्यक्ष तुलसीराज धितालले सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको हो । पालिकाले अहिलेसम्ममा तीन लाख ३१ हजार विरुवा वितरण गरिसकेको छ । चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको महाभारत गाउँपालिकामा एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका छन् । 

सम्बन्धित खबर