२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसंख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश

shivam cement
२०८२ पुष २६ गते १४:३२
Shares
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसंख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश

काठमाडौं : नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले विसं. २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुशरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ । आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ ।

यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक ७२ हजार ९ सय ८ को नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ । यसअघि विसं. २०६६/६७ मा गरिबीको रेखा १९ हजार २ सय ६१ निर्धारण गरिएको थियो । नयाँ गरिबीको रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति कुल खर्च रु ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा ३४ दशमलव १६ प्रतिशत रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा ११ दशमलव ८८ प्रतिशत छ । कोशी प्रदेशमा १७ दशमलव १९, मधेश प्रदेशमा २२ दशमलव ५३, बागमती प्रदेशमा १२ दशमलव ५९, लुम्बिनी प्रदेशमा २४ दशमलव ३४ र कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत गरिबीको दर रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार स्थानीय तहस्तरको विश्लेषण गर्दा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २० दशमलव २७ प्रतिशतभन्दा कम रहेको छ भने ४ सय ४४ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी छ । स्थानीय तहमा गरिबीको दर न्यूनतम एक दशमलव १८ प्रतिशतदेखि अधिकतम ७७ दशमलव ८९ प्रतिशतसम्म रहेको छ ।

पालिकास्तरमा हेर्दा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७ दशमलव ८९ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्थात् एक दशमलव १८ प्रतिशत मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको छ ।

गरिबीको रेखाभन्दा तल रहेको जनसंख्या संख्यात्मक रूपमा सबैभन्दा बढी काठमाडौं महानगरपालिकामा (५९ हजार २१८) रहेको छ । काठमाडौं महानगरपालिकामा गरिबीको दर ६ दशमलव ८७ प्रतिशत रहेको छ ।

जिल्ला तहको विश्लेषण गर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा ४९ दशमलव ५८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशको कास्की जिल्लामा पाँच दशमलव ६३ प्रतिशत रहेको छ । जिल्लागत रूपमा हेर्दा ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । –रासस

सम्बन्धित खबर