
रौतहट : जिल्लाको पश्चिमी भेगमा पर्ने परोहा नगरपालिका र राजपुर नगरपालिकाको सिमानामा पर्ने पोखरीया दमार टोलस्थित हुलाकी राजमार्ग अतिक्रमणको चपेटामा परेको छ । सडको दुवै तर्फबाट अतिक्रमण हुँदा राजमार्ग साँघुरो बन्दै गएको र दुर्घटनाको जोखिम अत्यधिक बढेको स्थानीयवासीहरूले गुनासो गरेका छन् ।
स्थानीयका अनुसार राजमार्गको दायाँ–बायाँ निजी जग्गाजस्तै गरी पराल, दाउरा, बालुवा, गिट्टी, इँटा, माटो थुपारिनुका साथै सवारीसाधन पार्किङ र कतिपय स्थानमा घरसमेत निर्माण गरिएको हो । यसले राष्ट्रिय महत्वको हुलाकी राजमार्गलाई अवरुद्ध बनाउँदै पैदलयात्री तथा सवारी चालकहरूको जीवन जोखिममा पारेको छ ।
उक्त क्षेत्र पहिले नै अति दुर्घटनाग्रस्त क्षेत्रको रूपमा चिनिँदै आएको भए पनि अतिक्रमण हटाउनेतर्फ परोहा नगरपालिकाका मेयर शेख वकिल र राजपुर नगरपालिकाका मेयर राजीक आलमले कुनै ठोस कदम नचालेको स्थानीयको आरोप छ । अतिक्रमण गर्नेहरूले आफ्नै भोट बैंक भएका कारण जनप्रतिनिधिहरू मौन बसेको स्थानीयहरूको बुझाइ रहेको हो ।
स्थानीयहरूले प्रश्न उठाएका छन्, सडक नै कब्जा भएको स्थानमा भोलि कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने ? राजनीतिक स्वार्थ र प्रशासनिक उदासीनताका कारण अतिक्रमण खुल्लमखुल्ला भइरहँदा सम्बन्धित निकायको मौनताले थप चिन्ता बढाएको उनीहरूको भनाइ छ ।
नागरिकहरूले तत्काल सडक अतिक्रमण हटाई हुलाकी राजमार्गको वास्तविक स्वरूप कायम गर्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सडक विभागको ध्यानाकर्षण गराउँदै आएका छन् । तर हालसम्म पनि ठोस पहल नहुँदा सडक व्यवस्थापन कागजमै सीमित भएको आरोप स्थानीयस्तरमा उठ्न थालेको छ ।
समयमै अतिक्रमण नहटाइए भविष्यमा हुनसक्ने ठूला दुर्घटनाले जनधनको क्षति मात्र होइन, सम्बन्धित जनप्रतिनिधि र निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गर्ने निश्चित देखिएको हो । यसबारे परोहाका नगर प्रमुख शेख वकीलसँग सम्पर्क राख्दा उक्त सडक अतिक्रमण र अवरोधबारे आफु जानकार रहेको र यसलाई हटाउन पटक–पटक प्रयास गरेको बताए ।
‘हामीले पटक पटक बाटो अवरुद्ध हुने गरी राखिएका पराल, दाउरा, बालुवा, गिट्टी, इँटा, माटोआदि हटाएका छौं,’ मेयर वकीलले मध्यान्हसँग भने, ‘तथापि कतिपयले फेरि बाटोमै सामानहरू थुपार्ने गरेको पाइएको छ । हामी अव कडाइका साथ राजमार्ग खुला बनाउने कार्यमा लाग्छौं ।’ उनले अनाधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनहरुलाई ट्राफिक प्रहरीको समन्वयमा कारबाही गरिने पनि बताए ।
यस्तै राजपुर नगरपालिकाका प्रमुख डा. मो. राजिक आलमसँग मध्यान्हले सम्पर्क गर्दा पोखरीया दमार टोलस्थित हुलाकी राजमार्गमा भइरहेको अतिक्रमणबारे आंफ्नो ध्यानाकर्षण भएको बताए । नगर प्रमुख आलमले कार्यालय खुल्ने वित्तिकै नगर प्रहरीहरू परिचालन गरेर अतिक्रमण हटाइने पनि जानकारी दिए ।