२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रौतहटमा निर्वाचन प्रहरीका लागि आवेदन दिनेको घुइँचो 

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २७ गते १९:५९
Shares
रौतहटमा निर्वाचन प्रहरीका लागि आवेदन दिनेको घुइँचो 

रौतहट : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ । रौतहट जिल्लामा आवश्यक कोटा अनुसार भर्ना हुन चाहने युवाहरूको जिल्लाका विभिन्न संकलन केन्द्रहरूमा ठूलो भीड लाग्न थालेको हो । 

जिल्लाका सुरक्षा निकायहरूले सार्वजनिक गरेको सूचना अनुसार रौतहटमा कुल ३ हजार ९ सय ५१ जना निर्वाचन प्रहरीको आवश्यकता रहेको छ । आवेदन दिन आएका युवाहरूको चापले जिल्लामा व्याप्त बेरोजगारीको अवस्थालाई समेत प्रष्ट पारेको स्थानीयको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार कुल ३ हजार ८ सय ५१ जनामध्ये नेपाल प्रहरीतर्फ ३ हजार ४ सय ६६ जना, सशस्त्र प्रहरी बलतर्फ ३ हजार ८५ जना व्यवस्थापनका लागि जिल्लाका चार स्थानबाट आवेदन दिने व्यवस्था मिलाइएको छ । 

जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुर इच्छुक उम्मेदवारले आगामी माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म आवेदन दिन सक्नेछन् । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ ।

सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिक, फौजदारी अभियोग नलागेको र कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ  पुरुषका लागि न्यूनतम ५ फिट उचाई ३१–३३ इन्च छाती र ५० केजी तौल, महिलाका लागि न्यूनतम ४ फिट १० इन्च उचाई र ४२ केजी तौल गर्भवती नभएको, पूर्व सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पूर्व वनरक्षक, विदेशी सुरक्षा निकायमा काम गरेका अनुभवी व्यक्ति र यसअघिका निर्वाचनमा सन्तोषजनक काम गरेका निर्वाचन प्रहरीहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

छनोट भएका निर्वाचन प्रहरीको सेवा अवधि नियुक्ति भएको दिनदेखि कुल ४० दिनको हुनेछ । उनीहरूले नेपाल प्रहरीको जवान सरहको आधारभूत तलबका साथै रासन खर्च, खाजा र अन्य तयारी खर्च समेत प्राप्त गर्नेछन् ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा संयन्त्रलाई मजबुत बनाउने उद्देश्यले यो भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाए ।

सम्बन्धित खबर