
काठमाडौं : पृथ्वी जयन्तीमा वर्षौंपछि सिंहदरबार गेटमा आइतबार पुरानै माहोल फर्किएको देखियो । राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री सुशीला कार्कीसम्म, सरकारका प्रायः सबै मन्त्री, प्रधानन्यायाधीशदेखि राष्ट्रिय सभा अध्यक्ष÷उपाध्यक्षसमेत नेपाल एकीकरणका अगुवा राजा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्न पुगे । सार्वजनिक दिवस दिएरै देशभर ३०४औं जन्यजयन्ती मनाइयो । सरकारी तबरबाट दिवस मनाइएलगत्तै राप्रपाले आफ्नै शैलीमा र्याली प्रदर्शन, बाजागाजा र झाँकीसहित शालिकमा माल्र्यापण गर्यो । लगत्तै, भृकुटीमण्डपमा चियापान कार्यक्रम राख्यो, जहाँ प्रधानमन्त्री कार्कीसहित विभिन्न दलका नेताहरू सहभागी भए ।
पृथ्वी जयन्ती राष्ट्रिय दिवसका रूपमा त्यति सजिलै फर्किएको भने होइन । २०६२/६३ सालको जनआन्दोलनपछि एउटा समय राजाको नाम सुन्नै नचाहने अवस्था थियो । आन्दोलनकै क्रममा राजाहरूका सालिक ढालिए । त्यही क्रममा देशका धेरै पृथ्वीचोकबाट पृथ्वीनारायण शाहका सालिक ढालिए, हटाइए । कतिसम्म भने राजमार्गका नाम फेरेर लोकमार्ग भन्न थालिए । सरकारले वर्षौदेखि मनाउँदै आएको पृथ्वी जयन्ती अनायसै मनाउन छाडियो । त्यसैपछि हो, पृथ्वी जयन्ती मनाउने एक्लो जिम्मेवारी राजसंस्था पुनस्र्थापनाको मुद्दा लिएको राप्रपाको काँधमा पुगेको ।
जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पनि पृथ्वी जयन्ती मनाउन खासै मन गरेनन् । २०६३ सालमा कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउने निर्णय गरेको थियो । राप्रपाले सुरुदेखि नै सो निर्णयको विरोध गर्दै आएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताको विरोधमा पूर्वराजाहरूका सालिक निशानामा परेका थिए । दशक लामो सशस्त्र विद्रोहबाट आएको नेकपा माओवादीको चाहना पनि पृथ्वीनारायण शाहलाई महत्व नदिने थियो । तर सोही दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री भएकाबेला २०७९ देखि पृथ्वी जयन्तीमा पुनः सार्वजनिक बिदा दिन थालियो ।
राप्रपा नेपालको साथ लिएर सरकार चलाउन उनी पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन तयार भए । १० पुसमा सरकार गठन हुँदै राप्रपाले पृथ्वी जयन्तीलाई सर्त बनाएको थियो । त्यतिबेला प्रचण्डले भनेका थिए, ‘पृथ्वी जयन्ती मनाउन मलाई कुनै आपत्ति छैन । पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई हामीले स्मरण गर्नुपर्छ ।’
बडामहाराजाका रूपमा पृथ्वीनारायण शाहलाई एकीकरणयताका पौने ३ सय वर्षसम्म स्मरण गरिँदै आएको छ । तर पञ्चायतकालसम्म पनि औपचारिक दिवस थिएन । २०४६ सालको राजनीतिक परिवर्तनपछि बल्ल पृथ्वी जयन्ती राष्ट्रिय दिवसकै रूपमा मनाउन लागिएको हो । शाह वंशको शासनकालमै दरबार, सेना र राज्यस्तरमा पृथ्वी जयन्ती मनाउने चलन सुरु भएको हो । तर त्यसबेला सार्वजनिक बिदाभन्दा बढी राजकीय/औपचारिक कार्यक्रम केन्द्रित थियो ।
२०६२/६३ मा जनआन्दोलन र माओवादी ‘जनयुद्ध’को रापतापमा झन्डै एक दशक पृथ्वी जयन्ती बनाउन छाडियो । त्यतिबेला राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले देशैभर पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान चलाएका थिए । २०७२ को भूकम्पपछि निर्माण गरिएको मुख्यालय भवनमा पृथ्वीनारायणको सालिक राखेर नेपाली सेनाले देशैभर शालिक खडा गर्ने अभियान चलायो । पृतना र ठुला ब्यारेकहरूमा बर्सेनि सालिक राख्न थालियो । २०७२ मै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको पहलमा औपचारिक रूपमा पृथ्वी जयन्ती मनाउन सुरु गरियो । अर्को वर्ष माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनासाथ सो निर्णय खारेज भयो ।
राष्ट्रनिर्मातालाई सम्मान गर्ने सवालमा भएको यो उतारचढावलाई राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्य राजनीतिक अपरिपक्वता बताउँछन् । ‘गणतन्त्र नेपाल भएपछि सरकारको मान्यताअनुरूप पृथ्वी जयन्ती मनाउन छोडिएको थियो,’ उनले भने, ‘त्यस समयमा शाहको योगदानबारे राजनीतिक नेतृत्वले बुझेन ।’ अन्य देशका राजाजस्तो नेपालका राजा क्रुर, शासक नभएको आचार्यको टिप्पणी छ । ‘अन्य देशका राजाका गतिविधि पनि देखे होलान, बुझे होलान्,’ उनी भन्छन्, ‘हाम्रा देशका राजा सम्मान गर्न लायकका छन्, उनीहरूको योगदान बुझेर शाहप्रति सम्मान गर्न फर्के होलान् जस्तो लाग्छ ।’
पछिल्लो समय सबै नेपालीमा राष्ट्रप्रेमको भाव बढेको बताउँछन्, इतिहासकार महेशराज पन्त । ‘हामी नेपाली हुन लागि पनि त केही आधार चाहिएको छ, त्यो आधार भनेकै राष्ट्र निर्माता शाह हुन्,’ उनले भने, ‘नत्र नेपाल भारत वा कसैको भूमिमा हुन्थ्यो, त्यो बल्ल बुझे नेपाली जनताले ।’ इतिहास कहिल्यै भुल्न नहुने उल्लेख गर्दै उनी थप्छन्, ‘राजतन्त्रबाट खोसेर गणतन्त्र ल्याइएको हो । गणतन्त्र आउँदैमा इतिहास मेट्नतर्फ समेत लागे । इतिहास कसैले मेट्न सक्दैन, फरक यत्ति हो ढिलै भए पनि महत्व बुझे ।’