
रौतहट : रौतहटमा सुशासन सुदृढ गर्दै विकास प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित रौतहटका १८ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकारीहरूबीच ‘स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति (जिसस) रौतहटको आयोजनामा गौरस्थित समितिको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको यस कार्यक्रममा स्थानीय तहहरूले आफ्नो कार्यकालमा अवलम्बन गरेका सफल योजना, सेवा प्रवाहका नयाँ अभ्यास र विकासका प्रभावकारी मोडेलहरू प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सामाजिक सेवा तथा प्रशासनिक सुधारका क्षेत्रमा हासिल भएका उपलब्धि र भोग्नुपरेका चुनौतीहरूबारे सहभागी पालिकाहरूले आफ्ना अनुभव साझा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले एक स्थानीय तहले अपनाएको राम्रो अभ्यास अर्को स्थानीय तहका लागि मार्गदर्शक बन्न सक्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले पालिकाबीच सहकार्य र समन्वय सुदृढ हुने बताए । उनले नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने सवालमा यस किसिमका पहलहरू महत्वपूर्ण हुने पनि स्पष्ट पारे ।
कार्यक्रममा योजना तर्जुमादेखि कार्यान्वयनसम्म पारदर्शिता कसरी सुनिश्चित गर्ने, सार्वजनिक स्रोतको प्रभावकारी उपयोग कसरी बढाउने र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने विषयमा विशेष अन्तरक्रिया गरिएको थियो । साथै, जिल्ला समन्वय समितिले पालिकाहरूबीच देखिन सक्ने विवाद समाधान गर्न र जिल्लाका समग्र विकास परियोजनामा नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा समेत सुझावहरू संकलन गरेको थियो ।
सोमबार बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा सहभागी प्रतिनिधिहरूले यस्ता अनुभव आदान–प्रदानका कार्यक्रमले अन्तर–पालिका सम्बन्ध मजबुत बनाउने, नयाँ जनप्रतिनिधि र कर्मचारीलाई व्यवहारिक ज्ञान हासिल गर्न मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिले आगामी दिनमा पनि यस्ता रचनात्मक, सहकार्य र समन्वय प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।