– बलराम तिमल्सिना
तिमीले देशको व्यापार गर्यौ
मैँले देहको व्यापार गरेँ
तिमीले रमाइरमाई देश बेच्यौ
मैँले रोइरोई शरीर बेचेँ
यसरी तिमी गद्दार भयौ
र म यसरी वेश्या भएँ ।
फरक कति छ भने–
तिमीलाई पुलिसले पहरा दिन्छ
मलाई पुलिसले लखेट्छ ।
देश बेचेको रात
तिमी आएका थियौ मेरो कोठामा
(त्यसो त थुप्रै ‘कमरेडहरू’ पनि आउँछन्)
मलाई भोगेका थियौ तिमीले
र हिँड्ने बेलामा
टिप्स भनेर अतिरिक्त पैसा दिएका थियौ
मैँले तिरस्कार पूर्वक थुक्दै पैसा फालेकी थिएँ
र भनेकी थिएँ–
मेरो देश र मेरी आमा एकै हुन्
आमा बेचेको पैसा मलाई चाहिँदैन
म बूढी आमालाई पाल्न देह बेच्दै छु ।
हिजो सँगै लडेको हो हामीले
मुक्तिको समर
सँगै गाएका हौँ झञ्झावातको गीत
सँगै रोएका हौँ कैयन पटक
र सँगै हाँसेका हौँ हामी
हामी दुवै कमरेड थियौँ हिजो ।
बिसाएपछि बन्दुक
फुकाले पछि फौजी पोशाक
बदलेपछि आफ्नो बाटो
र हिँडेपछि दुश्मन हिँड्ने बाटो
तिमी देश बेचुवा गद्दार बन्यौ अचेल
र म वेश्या बन्न पुगेँ ।
बाटो र विचारसँगै बदलिएका कमरेडहरू
गद्दारीमा गौरव गर्छन् अचेल
र मेरो जिन्दगीलाई हेला गर्छन्
ती अझै पनि भन्ने गर्छन्
‘हाम्रो महान तथा गौरवशाली पार्टी..!’
म सोचिरहेछु अचेल–
गद्दार हुनु र वेश्या हुनु कुन खराब हो ?
देश बेच्नु र शरीर बेच्नु कुन खतरनाक हो ?
तिमीहरूले जस्तो
निर्लज्जता पूर्वक
मैँले कहिले पनि भनेकी छैन–
“मेरो महान तथा गौरवशाली देह व्यापार !”
तिमीहरूलाई
गद्दारी गौरवशाली लाग्छ
आत्मसमर्पण आत्मीय
र विचलनमा रोमाञ्चकता प्राप्त हुन्छ
सपनाहरूको चिहानमाथि
ताण्डव नाच्दै छौ तिमीहरू
म भने देश सम्झिरहेकी हुन्छु
मेरो शरीरसँग
कोही जिस्किरहेको समयमा समेत ।
भन ए गद्दार ‘कमरेड’हरू
तिमीहरू र म को बढी खराब ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies