२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (निर्णयसहित)

shivam cement
२०८२ पुष २९ गते १६:३६
Shares
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् । 

निर्णयमध्ये पाँचवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् । बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, इसिमोडको वार्षिक योगदान भुक्तानी, वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने, म्यानमारका भूकम्पपीडित संरचनाको पुनर्निर्माणमा आर्थिक सहयोग दिने र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति स्वीकृत गर्ने निर्णय गरेको छ । 

यसैगरी विभिन्न सचिव तथा मन्त्रीहरूको विदेश भ्रमण स्वीकृति, कर्मचारी बढुवा सरुवा, सेनाका महासेनानीको बढुवा, दलितसम्बन्धी विधेयक तर्जुमा गर्ने सिद्धान्त स्वीकृति, विभिन्न जिल्लामा मालपोत र नापी कार्यालय स्थापना, गोरखापत्र संस्थानको अध्यक्ष नियुक्ति तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

हेर्नुहोस् निर्णय :

– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने । 

– वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।

– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने । 

– मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने । 

– अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बरालको मेक्सिको भ्रमण स्वीकृत गर्ने 

– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको  प्रतिनिधिमण्डलकाे चीन भ्रमण स्वीकृत गर्ने 

– नेपाल न्याय सेवा कानुन सेवातर्फका राजपत्रांकित प्रथम श्रेणीका आठजना अधिकृतहरूको बढुवा र पदस्थापन गर्ने 

– इटालीको रोममा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारलाई सहभागी हुने स्वीकृत दिने 

– म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा पर्यवेक्षकका रूपमा सहभागी हुन निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरलाई स्वीकृति प्रदान गर्ने 
 
– समस्याग्रत संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सिनाको राजीनामा स्वीकृत गरी उक्त पदमा मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने 

– नेपाली सेनाका तीन महासेनानीको सहायकरथीमा बढुवा गर्ने र दुईजना महासेनानीको सरुवा गर्ने 

– मोरक्कोमा आयोजना बालश्रम उन्मुक्तिसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने 

– स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सहभागी हुन स्वीकृति दिने 

– दलितको हकअधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने  

– इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने 

 – स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने डब्लुएचओको कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने 

– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने 

– प्रधानमन्त्रीको प्रेस सल्लाहकामा रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने 
 

सम्बन्धित खबर